Made in Hetauda:तालिमबाट उत्पादन,उत्पादनबाट ब्रान्ड,ब्रान्डबाट बजार र बजारबाट समृद्धि

कोल्हवी न्यूज
२०८३ भाद्र ३, बुधबार २०:५८ गते

ध्रुव अधिकारी:हेटौंडामा सीप तथा उद्यमशीलतासम्बन्धी तालिमको कमी छैन। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका विभिन्न निकाय तथा संघ–संस्थाले समय–समयमा महिला, युवा, किसान, घरेलु उद्यमी तथा स्वरोजगार बन्न चाहने नागरिकलाई लक्षित गर्दै विभिन्न तालिम सञ्चालन गर्दै आएका छन्। तर अब प्रश्न तालिम कति सञ्चालन भयो भन्ने होइन, तालिमपछि के भयो? भन्ने हुनुपर्ने समय आएको छ।

 

 

 

तालिम लिएर प्रमाणपत्र बोकेर घर फर्किने युवाको संख्या होइन, तालिमपछि उत्पादनमा जोडिएका, व्यवसाय सुरु गरेका, रोजगारी सिर्जना गरेका र आफ्नो उत्पादन बजारमा पुर्‍याएका नागरिकको संख्या बढाउनुपर्ने आवश्यकता छ। यही सोचलाई व्यवहारमा उतार्न हेटौंडामा “Made in Hetauda” को अवधारणा प्रभावकारी माध्यम बन्न सक्छ।

 

 

“Made in Hetauda” कुनै सरकारी निकायले आफैँ व्यवसाय सञ्चालन गर्ने कार्यक्रम होइन। यसको मुख्य भूमिका Facilitator, Promoter, Marketing Connector र Policy Supporter का रूपमा हुनुपर्छ। अर्थात् उत्पादन गर्ने काम उद्यमीको हो भने उत्पादनलाई पहिचान, ब्रान्ड, बजार, अवसर र नीतिगत सहयोगसँग जोड्ने काम स्थानीय तहको हुनुपर्छ।

 

 

 

यसका लागि हेटौंडामा हालसम्म सञ्चालन भएका सबै प्रकारका सीप तथा उद्यमशीलता तालिमको एकीकृत अभिलेख तयार गर्न आवश्यक छ। कुन संस्थाले कुन क्षेत्रमा तालिम दियो, कति जनाले तालिम लिए, तालिमपछि कति व्यक्ति व्यवसायमा लागे, कति उत्पादन भयो, कति रोजगारी सिर्जना भयो र उत्पादनले बजार पायो कि पाएन भन्ने विषयमा नियमित मूल्याङ्कन तथा फलोअप हुनुपर्छ।

 

 

 

तालिमलाई परिणामसँग जोड्न सकिए मात्र यसको वास्तविक उपलब्धि देखिन्छ। अन्यथा वर्षेनी ठूलो रकम खर्च गरेर तालिम सञ्चालन गर्ने, प्रमाणपत्र वितरण गर्ने र त्यसपछि प्रशिक्षार्थीलाई आफ्नै अवस्थामा छाड्ने पुरानै प्रवृत्तिले निरन्तरता पाउनेछ।

 

 

 

“Made in Hetauda” अन्तर्गत हेटौंडाका महिला उद्यमी, युवा उद्यमी, घरेलु तथा साना उद्योग, किसान, हस्तकला व्यवसायी, खाद्य उत्पादक, सेवा प्रदायक, Startup तथा Creative/IT क्षेत्रमा काम गरिरहेका युवालाई समेत समेट्न सकिन्छ। निश्चित मापदण्ड पूरा गरेका स्थानीय उत्पादन तथा सेवामा साझा “Made in Hetauda” पहिचान र ब्रान्ड प्रयोग गर्न सकिन्छ।

 

 

 

यसले उत्पादनमा मात्र होइन, स्थानीय नागरिकको भावनामा समेत सकारात्मक प्रभाव पार्न सक्छ। “मेरो उत्पादन, मेरो पहिचान, मेरो हेटौंडाको गौरव” भन्ने भावना स्थापित गर्न सकियो भने स्थानीय उत्पादनप्रतिको विश्वास र माग बढ्नेछ।

 

 

 

हेटौंडाका होटल, रेस्टुरेन्ट, पसल, मेला, प्रदर्शनी, कार्यालय तथा सार्वजनिक कार्यक्रमहरूमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण निर्माण गर्न सकिन्छ। स्थानीय उत्पादनको प्रयोग र बिक्रीलाई प्रोत्साहन गर्न सकियो भने उत्पादन गर्ने उद्यमीले बजार पाउनेछन् र बजार पाएपछि उत्पादन विस्तार गर्ने हौसला बढ्नेछ।
यस अवधारणालाई पर्यटनसँग जोड्नु अझ प्रभावकारी हुन सक्छ।

 

 

हेटौंडा आउने पर्यटकलाई “हेटौंडाबाट एउटा सम्झना र एउटा स्थानीय उत्पादन लिएर जाऔँ” भन्ने अभियान सञ्चालन गर्न सकिन्छ। त्यसका लागि Made in Hetauda Store, Local Product Centre, Digital Marketplace तथा Tourism Gift Centre स्थापना गर्न सकिन्छ। पर्यटकीय क्षेत्रहरूमा स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालन गर्न सके स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

 

 

 

डिजिटल प्रविधिको प्रयोग पनि उत्तिकै आवश्यक छ। हेटौंडाका उत्पादन र सेवाको विवरण, उत्पादकको परिचय, मूल्य, सम्पर्क र अर्डर प्रणाली समेटिएको डिजिटल बजार निर्माण गर्न सकिन्छ। यसले हेटौंडामा उत्पादित वस्तुलाई स्थानीय बजारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने बाटो खोल्न सक्छ।

 

 

 

अन्ततः “Made in Hetauda” एउटा लोगो वा व्यापारिक नाम मात्र हुनु हुँदैन। यो स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी, पर्यटन र आर्थिक आत्मनिर्भरतासँग जोडिएको अभियान बन्नुपर्छ।
लक्ष्य स्पष्ट छ—हेटौंडामा तालिम लिएपछि युवा प्रमाणपत्र बोकेर घर फर्किनु होइन, उत्पादन बोकेर बजारमा जानुपर्छ। महिलाको सीप घरभित्र सीमित हुनु हुँदैन, ब्रान्ड बनेर बजारसम्म पुग्नुपर्छ। स्थानीय उत्पादन केवल बनाइनु मात्र होइन, त्यसको पहिचान र बजार पनि निर्माण हुनुपर्छ।

 

 

 

हेटौंडा आउने पर्यटक खाली हात फर्किनु हुँदैन। उनीसँग हेटौंडाको एउटा सम्झना, एउटा स्थानीय उत्पादन र हेटौंडाप्रतिको एउटा सकारात्मक अनुभव लिएर फर्किने वातावरण बनाउनुपर्छ।
Made in Hetauda—हाम्रो उत्पादन, हाम्रो पहिचान, हाम्रो गौरव।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*