नेपालमै पहिलो पटक अर्गानोमिनिरस तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी,असोजदेखि व्यावसायिक उत्पादन
रौतहट:नेपालमा पहिलो पटक अर्गानो–मिनिरस तथा हाइब्रिड मल उत्पादन गर्ने आधुनिक उद्योग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।
एम आर फर्टिलाइजर्स प्रा.लि.को लगानीमा मधेश प्रदेशको रौतहट जिल्लाको फतुवा-बिजयपुर न.पा वडा न.११ हिमालिवासमा निर्माण भइरहेको उक्त उद्योगले आगामी असोज महिनादेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य अघि बढाइरहेको जनाएको छ।
उद्योग सञ्चालनमा आएपछि वार्षिक ५० हजार मेट्रिक टन अर्गानो–मिनिरस तथा हाइब्रिड मल उत्पादन हुने कम्पनीले जनाएको छ। नेपालमै पहिलो पटक यस प्रकारको मल उत्पादन हुन लागेकाले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ।
उद्योगले माटोको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारका मल तथा विभिन्न प्रकारका प्लान्ट न्युट्रिएन्ट (Plant Nutrients) उत्पादन गर्ने तयारी गरेको छ। रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा अर्गानो–मिनरल मलले माटोको जैविक गुणस्तर कायम राख्न तथा उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कृषि विज्ञहरूका अनुसार सन्तुलित पोषकतत्वयुक्त मलको प्रयोगले बालीको वृद्धि,उत्पादन र गुणस्तरमा सकारात्मक प्रभाव पार्छ। यस उद्योगबाट उत्पादन हुने मलले किसानलाई गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउनुका साथै खेतीपातीको लागत घटाउन र उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योग सञ्चालनसँगै मधेश प्रदेशमा रोजगारीका नयाँ अवसर समेत सिर्जना हुनेछन्। उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा स्थानीय युवाले रोजगारी पाउने विश्वास गरिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै औद्योगिक विकासमा समेत टेवा पुग्ने देखिन्छ।
हाल उद्योगको भौतिक संरचना निर्माण,अत्याधुनिक मेसिन जडान तथा प्राविधिक परीक्षणको काम तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ। निर्धारित समयमै सम्पूर्ण तयारी पूरा गरी असोजदेखि नियमित उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
नेपालमा गुणस्तरीय मल उत्पादन गर्ने स्वदेशी उद्योगको स्थापना भएपछि आयातमा निर्भरता घट्ने,किसानले समयमै आवश्यक मल प्राप्त गर्ने र कृषि उत्पादनमा आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्वदेशी लगानी, आधुनिक प्रविधि र कृषि क्षेत्रको आवश्यकतालाई केन्द्रमा राखेर निर्माण भइरहेको यम आर फर्टिलाइजर्स प्रा.लि. को यो उद्योग नेपालमा कृषि आधुनिकीकरण,माटो संरक्षण र खाद्य सुरक्षा सुदृढीकरणतर्फ एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ









