कमल थापा र प्रकाशचन्द्र लोहनीसहित राप्रपा नेताहरू जिल्ला भ्रमणमा निस्कँदै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायतका नेताहरू जिल्ला भ्रमणमा निस्कने भएका छन्।
नेता राजाराम बर्तौलाका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापामा पुगेर समापन हुनेछ।
आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारीमा रहेको राप्रपाले त्यसअघि संगठनात्मक गतिविधि तीव्र बनाउन नेताहरूलाई जिल्ला भ्रमणमा पठाउन लागेको हो।
भ्रमणका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका तथा पार्टीको संगठनात्मक सुदृढीकरणका विषयमा छलफल र अन्तरक्रिया गरिने बताइएको छ।
राप्रपाका अनुसार हालसम्म ७५ जिल्ला अधिवेशन र पाँच प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले सदस्यता वितरण तथा नवीकरणका लागि कात्तिक १८ गतेसम्मको समयसीमा तोकेको जनाएको छ।










