सम्भावना प्रशस्त तर विकासमा किन पछि पर्‍यो कोल्हवी?

कोल्हवी न्यूज
२०८३ असार २३, मंगलवार ०९:१६ गते


लेखक:अशेष ढुंगाना,कोल्हवी
बारा जिल्लाको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित कोल्हवी नगरपालिकासँग विकासका लागि आवश्यक धेरै आधारहरू छन्। पूर्व–पश्चिम राजमार्गसँगको पहुँच, उर्वर कृषि भूमि, बढ्दो बजार, युवा जनशक्ति तथा भौगोलिक अनुकूलताले कोल्हवीलाई जिल्लाकै अग्रणी नगर बनाउन सक्थ्यो। तर नगर स्थापना भएको डेढ दशक पुग्न लाग्दासमेत विकासका अधिकांश सूचकहरूमा कोल्हवीले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। प्रश्न उठ्छ—बाराका अन्य स्थानीय तहभन्दा कोल्हवी किन पछि पर्‍यो?

विकासको पहिलो आधार शिक्षा हो। कोल्हवीमा अझै पनि गुणस्तरीय शिक्षाको अभाव महसुस गरिन्छ।अधिकांश सामुदायिक विद्यालयमा आधुनिक शिक्षण प्रणाली,विज्ञान प्रयोगशाला,सूचना प्रविधिको प्रयोग तथा प्राविधिक शिक्षाको पर्याप्त विस्तार हुन सकेको छैन। निजी विद्यालयको आकर्षण बढ्दै जाँदा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास कमजोर बन्दै गएको देखिन्छ। उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीहरू वीरगञ्ज,हेटौंडा,वा काठमाडौं जान बाध्य छन्। स्थानीय स्तरमै गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्न नसक्नु विकासको एउटा प्रमुख कमजोरी हो।

स्वास्थ्य क्षेत्रको अवस्था पनि धेरै उत्साहजनक छैन। सामान्य उपचारका लागि स्वास्थ्य संस्था भए पनि विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण,पर्याप्त औषधि तथा आकस्मिक उपचार सेवाको अभावका कारण बिरामीहरूलाई अन्य शहर जानुपर्ने बाध्यता छ। मातृ तथा शिशु स्वास्थ्य,ज्येष्ठ नागरिक सेवा,मानसिक स्वास्थ्य तथा नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था अझै विस्तार हुन बाँकी छ। स्वास्थ्यमा हुने ढिलाइले नागरिकको जीवनस्तरमा प्रत्यक्ष असर पारिरहेको छ।

पूर्वाधार विकासमा केही प्रगति भए पनि त्यसले नागरिकको अपेक्षा पूरा गर्न सकेको छैन। सडक निर्माण भएका छन्, तर धेरै सडकको गुणस्तर,मर्मत तथा ढल व्यवस्थापन कमजोर छ। वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या धेरै क्षेत्रमा अझै कायम छ।व्यवस्थित बसपार्क, आधुनिक बजार,पार्क,खेल मैदान,सार्वजनिक पुस्तकालय, सुरक्षित पैदलमार्ग तथा हरियाली विस्तारजस्ता विषय प्राथमिकतामा पर्न सकेका छैनन्।विकासका योजना बनाइए पनि दीर्घकालीन सोचको अभाव र कार्यान्वयनमा कमजोरी देखिने गरेको स्थानीयको गुनासो छ।

कोल्हवीको मुख्य आधार कृषि भए पनि किसान अझै आधुनिक कृषि प्रणालीबाट पूर्ण रूपमा लाभान्वित हुन सकेका छैनन्।सिँचाइ, कृषि प्रविधि, कोल्ड स्टोर,प्रशोधन उद्योग,बजार व्यवस्थापन तथा कृषि बीमाको प्रभावकारी व्यवस्था नहुँदा उत्पादनले उचित मूल्य पाउन सक्दैन। उद्योग तथा लगानी आकर्षित गर्ने ठोस योजना अभावका कारण युवाहरू रोजगारीका लागि विदेश वा ठूला शहरतर्फ पलायन भइरहेका छन्। यसले नगरको आर्थिक गतिविधिलाई कमजोर बनाएको छ।

सामाजिक विकासका दृष्टिले पनि धेरै काम गर्न बाँकी छ। नागरिक सहभागिता,सामाजिक उत्तरदायित्व,सार्वजनिक सम्पत्तिको संरक्षण, सरसफाइ,वातावरण संरक्षण तथा सामाजिक एकताको विषयमा अझै व्यापक जनचेतना आवश्यक छ।लागूऔषध दुव्र्यसन,बेरोजगारी, बालविवाह,लैङ्गिक हिंसाजस्ता सामाजिक समस्याले पनि विकासको गतिलाई प्रभावित गरिरहेका छन्।

स्थानीय सरकारको सबैभन्दा ठूलो जिम्मेवारी सुशासन कायम गर्नु हो। तर बजेट वितरण,योजना छनोट,कार्यान्वयन तथा अनुगमन प्रक्रियामा बेला–बेला विवाद देखिने गरेका छन्। विकास योजनालाई राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने प्रवृत्तिले नगरको दीर्घकालीन हितमा असर पुर्‍याएको छ।जनप्रतिनिधि,कर्मचारी,नागरिक समाज र स्थानीयवासीबीच विश्वास र सहकार्य बलियो हुन सके मात्र विकासले गति लिन सक्छ।

कोल्हवीमा पर्यटनको पनि राम्रो सम्भावना छ। धार्मिक स्थल, स्थानीय संस्कृति,कृषि पर्यटन तथा प्राकृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके नगरको अर्थतन्त्रमा नयाँ आयाम थपिन सक्छ। तर यसतर्फ आवश्यक योजना,बजेट र प्रचार–प्रसार पर्याप्त देखिँदैन।

यी सबै चुनौतीका बीच कोल्हवीसँग प्रशस्त सम्भावना पनि छ। यदि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइयो,कृषि तथा उद्योगलाई आधुनिक बनाइयो,पूर्वाधार योजनालाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाइयो,सुशासन र पारदर्शितालाई व्यवहारमै लागू गरियो तथा नागरिक सहभागितालाई बलियो बनाइयो भने कोल्हवीले छोटो समयमै विकासको नयाँ गति समात्न सक्छ।

विकास कुनै एक व्यक्तिको जिम्मेवारी होइन। यो जनप्रतिनिधि, कर्मचारी,निजी क्षेत्र,नागरिक समाज,सञ्चार माध्यम र आम नागरिक सबैको साझा दायित्व हो।आलोचना मात्र होइन, समाधानको खोजी,उत्तरदायित्वको भावना र साझा प्रतिबद्धताबाट मात्र समृद्ध कोल्हवी निर्माण सम्भव छ।

आज आवश्यकता दोषारोपणको होइन,आत्मसमीक्षा र सुधारको हो। सम्भावनालाई अवसरमा बदल्ने हो भने कोल्हवी बाराको पछाडि परेको नगर होइन,उदाहरणीय नगर बन्न सक्छ। त्यसका लागि विकासलाई राजनीतिक नाराभन्दा माथि उठाएर जनताको साझा अभियान बनाउनुपर्ने समय आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*