अब आउने स्थानीय चुनावमा कसरी चुन्ने आफ्ना जनप्रतिनिधि?
अशेष ढुंगाना,कोल्हवी। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कोल्हवीका मतदातामाझ अब कस्ता जनप्रतिनिधि छनोट गर्ने भन्ने विषय महत्वपूर्ण बन्दै गएको छ।
स्थानीय सरकार प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिने भएकाले मतदाताले उम्मेदवारको व्यक्तिगत प्रभावभन्दा उसको क्षमता, इमानदारी, विगतको काम र आगामी योजनालाई आधार बनाएर मतदान गर्नुपर्ने आवश्यकता देखिएको छ।
स्थानीय तहका जनप्रतिनिधिले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सरसफाइ, पर्यटन तथा स्थानीय पूर्वाधार विकासजस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। त्यसैले मतदाताले उम्मेदवारले विगतमा समाज र समुदायका लागि गरेको योगदान, सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता तथा स्थानीय समस्याबारे उसको बुझाइलाई मूल्याङ्कन गर्नुपर्ने नागरिक अगुवाहरू बताउँछन्।
त्यसैगरी उम्मेदवारको घोषणापत्र तथा विकासका योजनाहरू व्यवहारिक छन् कि छैनन्, उपलब्ध स्रोत–साधनअनुसार कार्यान्वयन गर्न सकिने अवस्था छ कि छैन भन्ने विषयमा पनि मतदाताले प्रश्न गर्नुपर्ने देखिन्छ। केवल आश्वासन र लोकप्रिय नाराका आधारमा भन्दा स्पष्ट योजना, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
निर्वाचनमा जात, नातागोता, व्यक्तिगत दबाब, आर्थिक प्रलोभन वा क्षणिक भावनाका आधारमा मतदान गर्दा त्यसको असर पाँच वर्षसम्म स्थानीय शासनमा पर्न सक्छ। त्यसैले कोल्हवीका मतदाताले आफ्नो मतलाई विकास, सुशासन र समृद्धिको आधार बनाउँदै योग्य तथा सक्षम नेतृत्व छनोट गर्नुपर्ने देखिन्छ।
जिम्मेवार मतदाता बनौँ, सक्षम नेतृत्व छानौँ र समृद्ध कोल्हवी निर्माणमा योगदान गरौँ।










