बाराको कोल्हवीमा अचेत भेटिएका अज्ञात पुरुषको मृत्यु, पहिचान खुलाउन प्रहरीको आग्रह
बारा । बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा परिवारका सदस्यलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कात्तिक ८ गते शनिबार दिउँसो करिब ३ः२५ बजे खेतको डिलमा एक पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो।
अन्दाजी ६० देखि ६२ वर्ष उमेरका ती पुरुषको उपचारका क्रममा सोही दिन साँझ ५ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको छ। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
प्रहरीले मृतकको पहिचान खुलाउन उनको हुलियासमेत सार्वजनिक गरेको छ। मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनले घाँटीमा सेतो रङमा हरियो धर्सा भएको गम्छा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए।
त्यस्तै, उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।
मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त तथा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
मृतकबारे कुनै जानकारी भए प्रहरीको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा जानकारी गराउन सकिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










