बाराको कोल्हवीमा तामागढी सहकारीद्वारा सदस्यका गुनासा सुन्न उपसमिति गठन

कोल्हवी न्यूज
२०८३ श्रावण २०, बुधबार १३:१९ गते

कोल्हवी/तामागढी साकोसले आफ्ना सदस्यहरूको गुनासा तथा समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले तीन सदस्यीय गुनासो सुनुवाइ उपसमिति गठन गरेको छ। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार संस्थापक सदस्य हिरामणी खनाल ‘जय’ को संयोजकत्वमा उपसमिति गठन गरिएको संस्थाले जनाएको छ।

 

 

संस्थाका अनुसार स्थापना कालदेखि नै सहकारीको हित, सदस्यको अधिकार तथा संस्थाको विकासका लागि निरन्तर योगदान पुर्‍याउँदै आएका खनाललाई उपसमितिको नेतृत्वको जिम्मेवारी दिइएको हो। सहकारी अभियानमा देखिएका समस्या, विकृति तथा सदस्यका गुनासाहरूलाई समयमै सम्बोधन गरी संस्थाप्रतिको विश्वास कायम राख्ने उद्देश्यले उपसमिति गठन गरिएको जनाइएको छ।

 

 

 

संस्थाले जारी गरेको सूचनामा सदस्यको हितभन्दा बाहिर गएर कुनै पनि सहकारी सफल हुन नसक्ने उल्लेख गर्दै सदस्यका समस्या पहिचान, गुनासो सुनुवाइ तथा समाधानका लागि अबदेखि व्यवस्थित संयन्त्रमार्फत काम गरिने उल्लेख गरिएको छ। बैंक तथा वित्तीय संस्थामा जस्तै गुनासो व्यवस्थापन प्रणालीको अभ्यास अब तामागढी साकोसमा पनि लागू गरिएको संस्थाको भनाइ छ।

 

 

 

उपसमितिले सदस्यहरूबाट प्राप्त गुनासा, सुझाव तथा समस्या संकलन गरी आवश्यक अध्ययन गर्ने, समाधानका लागि सञ्चालक समितिलाई सिफारिस गर्ने तथा सदस्य र संस्थाबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउने कार्य गर्नेछ। यसबाट संस्थाभित्र देखिएका असन्तुष्टि कम हुनुका साथै सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

 

 

 

तामागढी साकोसले सबै सदस्यलाई आफूलाई परेका समस्या, जिज्ञासा वा गुनासाहरू निर्धक्क रूपमा उपसमितिसमक्ष राख्न आग्रह गरेको छ। सदस्यको आवाजलाई प्राथमिकताका साथ सुनी पारदर्शी, उत्तरदायी र सदस्यमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतासहित उपसमिति गठन गरिएको संस्थाले जनाएको छ। सहकारी क्षेत्रलाई थप जिम्मेवार, पारदर्शी र सदस्यकेन्द्रित बनाउने दिशामा यो निर्णय महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*