बुम पत्रकारिता’ पत्रकारिता होइन:पूर्वअध्यक्ष गाउँले
काठमाडौं,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय बढ्दो ‘बुम पत्रकारिता’ (माइक्रोफोन वा क्यामेरा बोकेर जथाभावी प्रश्न सोध्ने शैली) लाई वास्तविक पत्रकारिता भन्न नसकिने बताएका छन्।
उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणा अनुसार पत्रकारिता भनेको केवल मोबाइल वा क्यामेरा बोकेर सार्वजनिक कार्यालय, विद्यालय वा अन्य संस्थामा पुगेर मनलाग्दी प्रश्न गर्ने कार्य मात्र नभएको स्पष्ट पारेका छन्।
गाउँलेले अहिले प्रयोगमा रहेको ‘बुम बोकेर हिँड्ने’ शैलीको पत्रकारितासँग कुनै साइनो सम्बन्ध नरहेको उल्लेख गर्दै पत्रकारितामा तथ्यमा आधारित, जिम्मेवार, नैतिक र व्यावसायिक अभ्यास आवश्यक पर्ने बताएका छन्।
उनका अनुसार पत्रकारिताको मूल उद्देश्य सत्यतथ्य सूचना संकलन, सार्वजनिक सरोकारका विषय उजागर गर्ने तथा नागरिकलाई सही सूचना प्रवाह गर्नु हो। त्यसका लागि पत्रकारले आचारसंहिता, कानुनी व्यवस्था र व्यावसायिक मर्यादाको पालना गर्नुपर्ने उनको जोड छ।
पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत ‘बुम पत्रकारिता’ को प्रवृत्ति बढ्दै गएको सन्दर्भमा गाउँलेको यो अभिव्यक्तिलाई पत्रकारिताको व्यावसायिकता र विश्वसनीयताबारे भएको बहससँग जोडेर हेरिएको छ। उनले पत्रकारिताको नाममा हुने गैरव्यावसायिक गतिविधिले समग्र सञ्चार क्षेत्रको विश्वसनीयतामाथि नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिएका छन्।










