कलैया प्रादेशिक अस्पतालमा १० दिनदेखि रेबिजविरुद्धको खोप अभाव
बारा, कात्तिक ९ । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप (एआरभी) अभाव हुँदा कुकुर तथा बिरालोको टोकाइबाट पीडित बिरामी समस्यामा परेका छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप अस्पतालमा १० दिनदेखि नपाइएपछि बिरामी निजी मेडिकलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका हुन्।
सरकारी अस्पतालमा निःशुल्क खोप पाउने आशामा आउने सेवाग्राही खोप नपाएपछि रित्तो हात फर्किनुपर्ने वा निजी मेडिकलमा गएर महँगो मूल्य तिर्नुपर्ने अवस्थामा छन्। यसबाट विशेषगरी गरिब तथा विपन्न परिवारका नागरिक बढी प्रभावित भएका छन्।
एक सेवाग्राहीका अनुसार कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुग्दा बाहिरबाटै खोप किनेर ल्याउन भनिएको थियो। निजी मेडिकलमा एउटा खोपको ५६० देखि ६०० रुपैयाँसम्म तिर्नुपरेको उनको गुनासो छ।
“टाढाबाट दुःख गरेर सरकारी अस्पताल आइपुग्दा पनि सुविधा नपाउँदा हामीजस्ता विपन्न वर्ग झन् समस्यामा परेका छौँ,” उनले भने।
अस्पतालको एआरभी शाखाका अहेव रवीन्द्रकुमार यादवका अनुसार कुकुर तथा बिरालोले टोकेपछि उपचारका लागि दैनिक ४० देखि ६० जनासम्म सेवाग्राही अस्पताल आउने गरेका छन्।
अस्पतालका सूचना अधिकारी केविन्द यादवले विजयादशमीअघि देखि नै रेबिजविरुद्धको खोप अभाव भएको स्वीकार गरेका छन्। प्रदेश आपूर्ति शाखाले आगामी कात्तिक १७ गतेसम्म खोप उपलब्ध गराउन नसकिने जानकारी दिएको उनले बताए।
“अस्पतालमा बिरामीको चाप र खोपको खपत बढी भएकाले थप खोपको माग गर्दै यसअघिको खपत विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकिएको छ,” सूचना अधिकारी यादवले भने।
कलैया प्रादेशिक अस्पतालमा बाराका साथै छिमेकी जिल्ला रौतहटबाट समेत बिरामी उपचारका लागि आउने भएकाले खोपको माग उच्च रहने गरेको छ।
यसैबीच, अस्पतालबाहिरका निजी मेडिकलले रेबिजविरुद्धको खोपमा चर्को मूल्य लिइरहेको भन्दै गुनासो बढेको छ। सरकारी अस्पतालमै निःशुल्क खोप उपलब्ध नहुँदा उपचार खर्च बढेको भन्दै सेवाग्राहीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।










