सुन्नुस् आजकाे ´क` भित्ता

कविता
नारायण सापकोटा
२०७८ चैत्र २२, मंगलवार २०:४३

कित्ता कित्तामा उभिएर
भित्तामा पुगेपछि
रित्ता भएका तिता मान्छेहरु
भ्यागुतोले झै ट्यार ट्यार गर्दै
कर्कश आवाज निकालेर
मरुभूमिमा फुल पार्न खाेज्दै छन
हे इन्द्र देवता !
एकचाेटी बर्षिएर पाेखरी भरिदेऊ
भ्यागुताेले कान्ला चढ्न सक्दैन
पाेखरीभन्दा पर साेच्न सक्दैन
त्यसैले आजकाल म
कवितामा कि.मि हैन क भित्ता लेख्छु ।

क सिकेको भरले
कम्युनिस्ट भएकाहरु
ज्ञ सम्मका ज्ञाता छैनन्
लेलिनवादलाई लात हानेर
माक्र्सवादलाई मसानघाट लगेपछि
मन मस्तिष्कले पुजीवाद समातेकाे छ
जनताकाे छाला काटेर ड्रमसेट र,
हड्डी झिकेर बाँसुरी बजाउन पल्केकाहरु
पर पर देखिदै छ झुन्ड झुन्डमा
लक्ष्य लथालिङ्ग पारेर
कलंककाे यात्रामा कुर्लिने
कुर्सिका भाेकाहरुकाे बारेमा
म कवितामा कमरेड हैन कम रेट लेख्छु

सिद्धान्तमा सिंउडी कांडा उम्रेकाे छ
किताबमा काउसाे दलिएकाे छ
लाल सलाम गर्ने मेरा हातहरु
थाेरै उस्ले चलाइदिदाँ
लजावति झार झै
लर्याकलुरुक भएका छन
कर्कलाेजस्तै गलेकाे शरीर लिएर
म कसरी कलम चलाऊ !
आजकाल ,
मेरा कलमहरु कविता हैन क रित्ता लेख्छन ।

कच्याक-कुचुक पारिएकाे कचाैरामा
थाेरै घुट्की पानी पिएका
भाेकाे पेटमा पटुका बाँधेका
तमाम जनता देख्दा-देख्दै
समृद्धिकाे बिगुल कुन टावरमा गएर फुकाै ?
कमरेड ! तपाईले लुकाएकाे कालाे प्लास्टिकमा
के – के पाे छ म त केही देख्दिन ।
खै त्याे सभाबाट के बाड्नु हुन्छ ?
तर,
तपाईंले लगाएकाे कालाे काेटभित्र
टाढैबाट मैले तपाईंको भिमकाय भुँडी देखें
हाम्रो भाेकहरु तपाईंको भुँडीमा भाेजन भएछन
चाैरासी ब्यन्जनले क्विन्टलकाे ओजन भएछन ।
म भने सुकेको हुटिट्याऊजस्तै ज्यान लिएर
खुट्टा ठाडो पारी-पारी कतिन्जेल थेगाै कालाे बादललाई ?
कमरेड आस्थामा वन्चराे चलायाे नभन्नु !
मलाई फाेबिया भएकाे छ
तपाईंकाे सिद्धान्त देखेपछि रेविज भएकाे छ ।
कमरेड कविताहरु अपभ्रंश भएर क भित्ता भएकाे छ ।
नारायण सापकोटा-कोल्हवी -२(बारा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*