मधेसमा सरोज यादव नेतृत्वको सरकार संकटमा, समर्थन जुटाउन नसक्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा
९ मंसिर । मधेस प्रदेशमा सरोजकुमार यादव नेतृत्वको नयाँ सरकार गठन भए पनि राजनीतिक समर्थन जुटाउन नसक्दा सुरुवातदेखि नै अन्योलमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बने पनि अहिलेसम्म कुनै पनि दलले औपचारिक समर्थन जनाएका छैनन् । जसका कारण मन्त्रिपरिषद् विस्तारसमेत रोकिएको छ ।
मंसिर ६ गते मुख्यमन्त्रीको शपथ लिएका यादवलाई सरकार विस्तार गर्न आवश्यक राजनीतिक सहमति जुटाउन कठिन भइरहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल भएका कारण जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि अन्य दलको समर्थन नहुँदा सरकारको भविष्यबारे प्रश्न उठ्न थालेको छ ।
सरकार गठनप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एकै ठाउँमा उभिएका छन् । तीनवटै दलका नेताहरूले मुख्यमन्त्रीको शपथग्रहण समारोहसमेत बहिष्कार गरेका थिए । उता, जनमत पार्टीले पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
यता, जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले भने सरकार संकटमा नरहेको दाबी गरेका छन् । विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको उल्लेख गर्दै उनले एक–दुई दिनभित्र सरकारबारे स्पष्ट टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् ।
झाका अनुसार यसअघि जसपा नेपालसहितको अग्रगामी मोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । तर, संविधानले गरेको व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल भएका कारण जसपा नेपालले सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति बनेको उनको भनाइ छ ।
संवैधानिक संकट टार्न सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै झाले अन्य दलले समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । अध्यक्ष उपेन्द्र यादव अग्रगामी मोर्चाका कार्यक्रममा व्यस्त रहेकाले कांग्रेसलगायत दलसँग औपचारिक छलफल हुन नसकेको उनले बताएका छन् ।
सरकार गठनको वैधानिकतामाथि तीन दलको प्रश्न, कानुनी बाटो खोज्दै
यसअघि कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका थिए ।
कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो ।
तर, उक्त प्रक्रियाप्रति असन्तुष्ट कांग्रेस, एमाले र नेकपाले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग छलफलका लागि लिखित रूपमा समय माग गरेका थिए । प्रदेश प्रमुखले भेटका लागि समय नदिएको तीन दलको गुनासो छ ।
त्यसपछि तीनवटै दलले सरकार गठन प्रक्रिया संविधानसम्मत भए–नभएको विषयमा कानुनी परामर्श थालेका छन् । दलका शीर्ष नेताहरू काठमाडौंमा बसेर राजनीतिक तथा कानुनी विकल्पबारे छलफल गरिरहेका छन् ।
कांग्रेसका एक नेताका अनुसार सरकार गठनविरुद्ध अदालतमा मुद्दा दायर गर्ने विषयमा समेत छलफल भइरहेको छ । यद्यपि, यसबारे कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
कांग्रेसका मधेस प्रदेशसभा संसदीय दलका उपनेता वीरेन्द्र सिंहले पनि सरकारलाई समर्थन गर्ने विषयमा पार्टीले निर्णय गरिनसकेको बताएका छन् । उनका अनुसार दलभित्र र अन्य राजनीतिक शक्तिसँग छलफल जारी छ ।
बहुमतका लागि जसपा नेपाललाई थप २५ सांसद आवश्यक
मुख्यमन्त्री यादवले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । १०३ सदस्यीय मधेस प्रदेशसभामा सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा दलहरूको प्रतिनिधित्व यस्तो छ :
जसपा नेपाल : २८ सांसद
नेकपा एमाले : २४ सांसद
नेपाली कांग्रेस : २२ सांसद
नेपाली कम्युनिस्ट पार्टी : १५ सांसद
जनमत पार्टी : १२ सांसद
नेपाल संघीय समाजवादी पार्टी : १ सांसद
राष्ट्रिय प्रजातन्त्र पार्टी : १ सांसद
हाल जसपा नेपालसँग २८ सांसद मात्रै रहेकाले बहुमत पुर्याउन थप २५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।
एमालेको समर्थन प्राप्त भए सरकारलाई बहुमत पुर्याउन सहज हुनेछ । त्यस्तै, कांग्रेस र जनमत पार्टीको साथ पाए पनि आवश्यक संख्या पुग्नेछ । तर, यीमध्ये कुनै पनि दलले अहिलेसम्म सरकारलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छैनन् ।
नेकपा भने एमालेसँगको राजनीतिक सहकार्यबाट अलग हुने पक्षमा नरहेको नेताहरूको बुझाइ छ । अन्य प्रदेशमा एमाले र नेकपाबीच गठबन्धन सरकार रहेकाले मधेसमा पनि उक्त सहकार्य कायम रहने अपेक्षा गरिएको छ ।
जनमत पार्टीका नेता एवं प्रदेशसभा सदस्य महेश यादवले जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन् । अग्रगामी मोर्चाको निर्णयपछि मात्रै पार्टीले आफ्नो धारणा तय गर्ने उनको भनाइ छ ।
यस्तै, जसपा नेपालका प्रदेशसभा सदस्य राजु गुप्ताले पनि विभिन्न दलसँग संवाद भइरहेको जानकारी दिएका छन् । कांग्रेससँग औपचारिक छलफल हुन बाँकी रहेको उल्लेख गर्दै उनले अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएपछि थप राजनीतिक परामर्श गरेर निष्कर्षमा पुगिने बताएका छन् ।









