सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै वकालत गर्न नपाइने, बार काउन्सिलले लागू गर्‍यो दुई वर्षे प्रतिबन्ध

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १७:४१ गते

काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएका न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकले अब अवकाशलगत्तै कानुन व्यवसाय (वकालत) गर्न नपाउने भएका छन् । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले सरकारी सेवाबाट निवृत्त भएपछि कम्तीमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ पूरा गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार मंसिर १ गते बसेको परिषद् बैठकले ‘आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५’ को नियम १३ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ नियमअनुसार कानुन व्यवसायीको प्रमाणपत्र लिइसकेका तर पछि सरकारी सेवामा प्रवेश गरेका व्यक्तिहरूले अवकाश पाएको दुई वर्ष नपुगेसम्म आफ्नो प्रमाणपत्र अद्यावधिक गर्न निवेदन दिन पाउने छैनन् ।

यो व्यवस्था संघ, प्रदेश र स्थानीय तहका स्थायी निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनसँग सम्बन्धित जिम्मेवारीमा रहेका व्यक्तिहरूमा लागू हुनेछ । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट अवकाश पाउने सुरक्षाकर्मीसमेत यसमा समेटिएका छन् ।

सरकारी कोषबाट पारिश्रमिक प्राप्त गर्ने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीले पनि अवकाशपछि दुई वर्ष पूरा गरेपछि मात्रै कानुन व्यवसाय गर्न पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*