अब स्वास्थ्य बीमा सेवा लिन भौतिक कार्ड अनिवार्य नहुने, डिजिटल कार्ड र फोटोकपीबाटै उपचार पाइने

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १७:४७ गते

काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अस्पताल पुग्दा अब भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

बोर्डले बुधबार जारी गरेको निर्देशनमा भौतिक कार्ड नभएकै कारण कुनै पनि बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब बीमितले स्वास्थ्य बीमा परिचयपत्रको सक्कल प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी देखाएर सेवा लिन सक्नेछन् ।

यद्यपि, सेवा प्रदान गर्नुअघि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा रुजु गर्नुपर्नेछ । यसरी बीमामा आबद्ध रहेको पुष्टि भएपछि बीमाअन्तर्गत उपलब्ध उपचार सेवा प्रदान गर्नुपर्ने बोर्डले जनाएको छ ।

यसअघि अस्पतालमा स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था थियो । यसका कारण कार्ड हराएका, घरमै छुटेका वा अन्य कारणले साथमा नभएका सेवाग्राहीले उपचारका क्रममा समस्या भोग्नुपरेको थियो ।

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहका अनुसार नयाँ व्यवस्थाले यस्ता सेवाग्राहीलाई उपचार सेवा लिन सहज बनाउनेछ ।

भौतिक कार्डको अनिवार्यता हटेसँगै अब परिचयपत्र साथमा नभए पनि डिजिटल माध्यम वा फोटोकपीबाट स्वास्थ्य बीमाको सेवा लिन सकिने भएको छ । यसले बीमित नागरिकले अस्पतालमा उपचार गराउँदा भोग्नुपर्ने प्रशासनिक झन्झटसमेत कम गर्ने अपेक्षा बोर्डले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*