बारा जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान तीव्र,नेता-कार्यकर्तालाई प्रशिक्षण

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १९:२० गते

बारा । नेपाली कम्युनिस्ट पार्टी, बारा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय राष्ट्रिय जागरण अभियानअन्तर्गत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला संयोजक कमरेड गीता कणेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कार्यदल सदस्य तथा मधेश प्रदेश इन्चार्ज कमरेड महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश सह–इन्चार्ज कमरेड रामकुमार भट्टराई, प्रदेश सह–संयोजक क्षेत्रबहादुर श्रेष्ठ (अनिल), बारा जिल्ला इन्चार्ज कमरेड रमेश कुमार यादव तथा जिल्ला सह–इन्चार्ज कमरेड बतहु यादवको उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय समिति सदस्य, जिल्ला समिति पदाधिकारी तथा मधेश प्रदेश समितिमा प्रतिनिधित्व गर्ने प्रदेश समिति सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी नेता तथा कार्यकर्तालाई राष्ट्रिय जागरण अभियानको उद्देश्य, पार्टीको नीति, विचार, सिद्धान्त र आगामी राजनीतिक कार्यदिशाबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महेन्द्र राय यादवसहित अन्य अतिथि नेताहरूले राष्ट्रिय जागरण अभियानको राजनीतिक तथा संगठनात्मक महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँहरूले पार्टीका नीति तथा विचारलाई जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप मजबुत बनाउन नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा परिचालित हुनुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन वडा तथा नगरस्तरसम्म अभियान विस्तार गर्ने, जनतासँग प्रत्यक्ष संवाद गर्ने र पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिइएको थियो।

कार्यक्रमको सञ्चालन कमरेड ध्रुव यादवले गर्नुभएको थियो। प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमले बारा जिल्लामा पार्टीको संगठनात्मक गतिविधि र राष्ट्रिय जागरण अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*