भुमरीमा रुमलिएको समाज

काव्या पाण्डे
२०७८ पुष २, शुक्रबार १०:०२

काव्या पाण्डे
कक्षा : ११
हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

नेपाल एक अल्पविकसित राष्ट्र हो । अहिलेको युगमा जहाँ विश्व निकै तीव्र गतिमा अगाडि बढ्दैछ, नेपालमा भने पुराना सामाजिक विकृतिहरु हट्न सकेका छैनन् । मानिसहरुले अझैँ पनि रुढिवादी सोच र मान्यताहरुलाई त्याग्न सफल भएका छैनन् ।
नेपालका केही ठाउँहरुमा अझैँ पनि थुप्रै मानिसहरु अशिक्षित छन् । लैङ्गिक विभेद, छुवाछुत प्रथा, दाइजो प्रथा जस्ता कुप्रथा आजसम्म देख्न सकिन्छ । आफ्ना छोरीहरुलाई पराया धन ठानेर शिक्षाबाट वञ्चित राख्ने परिवारहरु पनि छन् । त्यसैगरी नेपाली समाजमा बेरोजगारी र भ्रष्टाचार पनि एक निकै ठूलो समस्याको रुपमा रहेको छ । उच्च पदमा भएका ठूलाबडा नेताहरुले नागरिकहरुलाई देशविकासको नाममा ठग्दै आएका छन् । गरिबी पनि हाम्रो राष्ट्रमा एक कलङ्क बनेर बसेको छ । कम विकसित र दुर्गम क्षेत्रहरुमा हेर्ने हो भने, मान्छेहरु खान नपाएर आफ्नो ज्यान गुमाइरहेका छन् । अन्धविश्वासले पनि समाजमा गहिरो जरा गाडेको छ । यसैले पनि समाजमा रहेको धेरै जस्तो समस्याहरुलाई बढावा दिएको छ । जातीय भेद्भाव जस्ता समस्या पनि अहिलेसम्म चलिआएको एक खराब परम्परा हो । यहाँ धेरै मानिसहरुले महिलाहरुलाई कमजोर ठान्छन् । महिलाहरु पुरुषको सेवा गर्ने मात्र बनेका हुन् भन्ने सोच उनीहरुमा छ ।
यस्तै समस्याहरुले गर्दा हाम्रो समाज अगाडि बढ्न सकेको छैन । अझैँ पनि समाजमा यस्ता समस्या हुनुको मुख्य कारण भनेकै मानिसहरुको सोच हो । मान्छेहरुको मान्यता हो ।
सरकारको लापरवाहीले गर्दा पनि मानिसहरुले आफ्नो सोचमा परिवर्तन ल्याउन सकेका छैनन् । बढ्दो जनसङ्ख्याको कारणले पनि यहाँ निकै चाप बढेको छ । गाउँबाट रोजगारीको खोजीमा कयौँ मान्छेहरु सहरतिर जान्छन् तर सहर बजारमा मानिसहरुको चापले गर्दा उनीहरु निराश भएर फर्किनु पर्ने अवस्था आउँछ । हाम्रो समाजमा दक्ष जनशक्तिको अभाव पनि छ । आजकलका युवाहरु विदेशी संस्कृतिप्रति आकर्षित हुँदै गएका छन् । थुप्रै युवाहरु रोजगारीको अवसर पाउन विदेश पलायन हुने गरेका छन् । लाखौँ जनशक्तिले अर्काको माटोमा रगत, पसिना र सिप पोख्नु परेको छ । नागरिकहरु आफूले पनि के सही हो र के गलत छुट्याउन सकिरहेका छैनन् । गाउँ सहरमा मानिसहरुलाई अज्ञानता र अभावको भुमरीले बाँधेको छ ।
समाधानहरु:
समाजमा प्राचीनकालदेखि चलिआएका यस्ता विकृति, कुप्रथा र समस्याहरुलाई जरैदेखि उखाल्ने हो भने सर्वप्रथम हामी सबैले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ । यहाँ महिलालाई पुरुष समान ठानेर हिँड्याँै भने, समाजको हितका लागि काम गर्नुपर्छ भन्ने विचार र भावना बोकेर हिँड्याँै भने पक्कै पनि समाजको प्रगति हुनेछ र यस्ता समस्याहरुको अन्त्य हुनेछ ।
त्यसगरी सरकारकाले भ्रष्टाचार गर्नुहरुका विरुद्ध कडा नियम कानून बनाउनुपर्छ । एक जिम्मेवार नागरिक बनेर हामीले पनि, समाजका यी समस्याहरुले कसरी हामीलाई नै नराम्रो असर परिरहेको छ भन्ने बारे जनचेतना जगाउन सक्छौँ । विद्यालयमा पनि विद्यार्थीहरुलाई समाजका यस्ता समस्या र विसङ्गतिहरुलाई नपछ्याउन र तिनीहरुलाई समाजबाट हटाउनतर्फ लाग्नुपर्ने कुरा सिकाउने शिक्षा दिन सकिन्छ । नेपालमा अथाह सम्पत्ति छ । हामीले त्यसकै सदुपयोग गरेर नेपालमा औद्योगीकरण बढाउन सकिन्छ । आफ्नै राष्ट्रमा रोजगारीको अवसरहरु बनाएर देशकै नाममा सीप खर्च गर्नुपर्छ ।
मानिस प्रगतिशील प्राणी हो । मानिसले प्राय परिवर्तन चाहान्छ । तर यस समाज गाउँघर, राष्ट्रमा रहेको समस्याहरु पनि मानिसहरुको कारणले नै उत्पन्न भएको हो । यी समस्याहरुलाई उन्मूलन गर्न पनि मानिसहरुको एकजुट प्रयास चाहिन्छ । हामीले समाजलाई सपार्न योगदान दिनुपर्छ । हामीले यस समाजलाई यस्ता विकृतिहरुबाट मुक्त गराएर अर्को पुस्ताका लागि बाँच्न लायक समाज र राष्ट्रको निर्माण गरौँ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*