टिकटक लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेले ३१ हजार रुपैयाँ पाउने
मकवानपुर,पछिल्लो समय सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत यही साउन २२ गतेदेखि ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन गरिरहेको छ।
‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ नामक टिकटक आईडीबाट प्रत्यक्ष रूपमा दोहोरी प्रतियोगिता सञ्चालन भइरहेको हो।
नेपाल घर सुर्खेत भई हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका संस्थाका संस्थापक पारस बुढाका अनुसार नेपाली लोकगीत तथा संगीतको संरक्षण गर्दै गाउँ–बस्तीमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
संस्थाले वर्षमा दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि नौ वटा सिजन सम्पन्न गरिसकेको संस्थाले हाल दशौँ सिजन सञ्चालन गरिरहेको हो। संस्थाका अध्यक्ष सुन्दर खड्काको सभाध्यक्षता तथा समाजसेवी एवं सहयोगी खुशी थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।
कार्यक्रम सञ्चालनका लागि प्रमुख अतिथि खुशी थापा (नेपाल घर भोजपुर, हाल अमेरिका), संस्थाका व्यवस्थापक तारादेव डाँगी (नेपाल घर सल्यान, हाल अमेरिका) र संस्थाका सल्लाहकार मिलन थापा (नेपाल घर बागलुङ, हाल पोर्चुगल) ले जनही ५०/५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
त्यस्तै, कार्यक्रमका अध्यक्ष सुन्दर खड्काबाट प्रथम पुरस्कार, नेपाल घर चितवन भई हाल अस्ट्रेलियामा रहनुभएका मनिष ढकालबाट तेस्रो पुरस्कार तथा नेपाल घर भोजपुर भई हाल कतारमा रहनुभएका नवराज मास्केबाट ३ हजार रुपैयाँ सहयोग प्राप्त भएको संस्थाकी कोषाध्यक्ष शोभा उप्रेतीले जानकारी दिनुभयो। साथै, अशक्त सुनिता थारूलाई थप १ हजार रुपैयाँ सहयोग गरिएको छ।
प्रतियोगिताको निर्णायकमा नारायण न्यौपाने, गोमा ओली र बिमा कुमारी अनुरागी रहनुभएको छ।कुल १२६ जना सहभागी रहेको प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीले ३१ हजार रुपैयाँ, द्वितीय हुनेले २१ हजार रुपैयाँ र तृतीय हुनेले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सान्त्वना हुने प्रतिस्पर्धीले ८ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमका सञ्चालकमा मल्लिका गुरुङ, नवीन डी.सी., शान्त सेती मगर र गोरख डाँगी रहनुभएको छ भने प्रतियोगिता हरेक दिन नेपाली समयअनुसार साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएको छ।
हिजोसम्म सञ्चालन भएको अडिसनबाट ५२ जना प्रतिस्पर्धी दोस्रो चरणमा प्रवेश गरेका छन्। अडिसनबाट छनोट भएका प्रतिभाहरूले अब प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने संस्थापक पारस बुढाले जानकारी दिनुभयो।










