१०० जनाले पाउने निःशुल्क लोकसेवा तयारी कक्षाको अवसर

कोल्हवी न्यूज
२०८३ मंसिर ९, मंगलवार ०७:२६ गते

राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको शाखा अधिकृत र नायब सुब्बा पदका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्न आवेदन खुला गरेको छ । इच्छुक युवालाई तयारी कक्षामा सहभागी गराउन परिषद्ले १५ दिनको आवेदन अवधि तोकेको हो ।

परिषद्का अनुसार शाखा अधिकृतको प्रथम पत्र तथा नायब सुब्बा पदको पूर्ण पाठ्यक्रमअनुसार तयारी कक्षा सञ्चालन गरिनेछ । आवेदनदेखि कक्षासम्म कुनै शुल्क लाग्ने छैन । तर, आवेदन दिएका सबैले कक्षा लिन पाउने छैनन् । प्राप्त आवेदनका आधारमा छनोट भएका उम्मेदवारलाई मात्रै कक्षामा सहभागी गराइनेछ ।

निःशुल्क तयारी कक्षाका लागि यस वर्ष भौतिक रूपमा १०० जनाको कोटा निर्धारण गरिएको छ । उक्त कोटामा निजामती सेवा तथा शिक्षक सेवा तयारी गर्ने विद्यार्थीसमेत समेटिनेछन् । शाखा अधिकृत र नायब सुब्बाका लागि छुट्टाछुट्टै कति कोटा छुट्याइएको छ भन्ने भने खुलाइएको छैन ।

परिषद्ले मंसिर ४ गते आवेदन आह्वान गरेको हो । इच्छुकले मंसिर १८ गतेभित्र आवेदन फारम भरेर पेस गर्नुपर्नेछ । आवेदन सबैका लागि खुला गरिएको भए पनि कार्यक्रमबाट विशेष प्राथमिकतामा रहेका युवालाई लाभान्वित गराउने लक्ष्य राखिएको छ ।

हाल निजी तयारी संस्थाहरूले शाखा अधिकृतको तयारी कक्षाका लागि कम्तीमा १५ हजार रुपैयाँ र नायब सुब्बाका लागि १२ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । परिषद्ले भने सार्वजनिक खरिद प्रक्रियामार्फत न्यूनतम कबोल गर्ने निजी इन्स्टिच्युट छनोट गरी कक्षा सञ्चालन गराउनेछ ।

गत वर्ष अनलाइन माध्यमबाट एक हजार जनालाई निःशुल्क तयारी कक्षा प्रदान गरिएको थियो । यस वर्ष पनि युवा, श्रम तथा रोजगार मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रम परिषद्को आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रममा समावेश छ । परिषद्ले २०८०/८१ देखि निरन्तर सञ्चालन गर्दै आएको उक्त कार्यक्रम यस वर्ष पनि अघि बढाएको हो ।

तयारी कक्षा सञ्चालनका लागि चालु आर्थिक वर्षमा १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट लोकसेवा आयोग र शिक्षक सेवा आयोग दुवैको तयारी कक्षा सञ्चालन गरिनेछ ।

परिषद्ले आवेदन आह्वान, विद्यार्थी छनोट तथा इन्स्टिच्युट छनोटको प्रक्रिया पूरा गरी मध्यपुस वा माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*