१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै
लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पहिलो चरणमा ६ खेलका प्रतिस्पर्धा सञ्चालन हुने भएका छन्।
आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सञ्चालन हुनेछन्।
प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना गर्ने तय भएको छ। एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबल टेनिस, उसु, तेक्वान्दो, बक्सिङ, ह्यान्डबल, बास्केटबल, भारोत्तोलनलगायत खेल सुर्खेतमै हुनेछन्।
अन्य खेलमध्ये टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख तथा बुद्धिचाल कालिकोटमा आयोजना हुनेछन्। पौडी र सुटिङका खेल भने नेपालगञ्जमा सञ्चालन गरिनेछ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको छ। विभिन्न प्रदेशबाट खेलाडीहरू पनि प्रतियोगितास्थल पुगिसकेका छन्। वीरेन्द्रनगरस्थित रंगशालाको सोमबार हस्तान्तरण तथा उद्घाटन गरिएको थियो। मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन्।
प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। र्यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहतालगायत खेलकुद क्षेत्रका पदाधिकारी, खेलाडी र स्थानीयको सहभागिता थियो।









