पेलेदेखि मेस्सीसम्म : फुटबलको १० नम्बर जर्सी कसरी बन्यो महानताको प्रतीक ?
फुटबलमा जर्सी नम्बर केवल खेलाडी चिनाउने माध्यम मात्र होइन, कहिलेकाहीँ त्यो इतिहास, प्रतिष्ठा र विरासतको प्रतीक पनि बन्ने गर्छ। विश्व फुटबलमा सबैभन्दा चर्चित र सम्मानित जर्सी नम्बरमध्ये ‘१० नम्बर’ अग्रस्थानमा पर्छ। यो नम्बर लगाउने खेलाडीलाई सामान्यतया टोलीको प्लेमेकर, सिर्जनशील खेलाडी तथा नेतृत्वदायी भूमिकामा रहने व्यक्तिका रूपमा हेरिन्छ।
आज १० नम्बर जर्सीलाई महानताको प्रतीक मानिए पनि यसको सुरुआत भने संयोगवश भएको थियो। फुटबलमा जर्सी नम्बर प्रणाली सन् १९५४ को विश्वकपबाट औपचारिक रूपमा लागू भएको थियो। तर १० नम्बर जर्सीको विशेष पहिचान सन् १९५८ को विश्वकपबाट सुरु भएको मानिन्छ।
त्यतिबेला ब्राजिलियन फुटबल महासंघले खेलाडीहरूको सूची समयमै नबुझाउँदा फिफाका एक उरुग्वेली प्रतिनिधिले खेलाडीहरूलाई जथाभावी नम्बर बाँडेका थिए। त्यसक्रममा १७ वर्षीय पेले को भागमा १० नम्बर जर्सी परेको थियो। पेलेले सोही विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई पहिलो पटक विश्वविजेता बनाए र १० नम्बर जर्सीलाई विशेष बनाउने आधार तयार गरे।
पेलेपछि डिएगो म्याराडोना ले १० नम्बर जर्सीलाई नयाँ उचाइमा पुर्याए। सन् १९८६ को विश्वकपमा उनले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दि सेन्चुरी’ जस्ता ऐतिहासिक क्षण सिर्जना गर्दै अर्जेन्टिनालाई विश्वकप दिलाएका थिए।
त्यसपछि जिनेदिन जिदान ले फ्रान्सका लागि १० नम्बर जर्सीमा आफ्नो असाधारण क्षमता प्रदर्शन गरे। विशेषगरी सन् २००६ को विश्वकपमा ब्राजिलविरुद्धको उनको प्रदर्शनलाई फुटबल इतिहासकै उत्कृष्ट प्रदर्शनमध्ये एक मानिन्छ।
पछिल्लो दुई दशकमा भने १० नम्बर जर्सीको चर्चा लियोनल मेस्सी सँग जोडिएको छ। मेस्सीले यही नम्बरमा विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग तथा बालोन डी’ओरजस्ता प्रतिष्ठित उपाधि जित्दै १० नम्बरको विरासतलाई थप बलियो बनाएका छन्।
विश्व फुटबलका सर्वकालीन महान् खेलाडीहरू पेले, म्याराडोना, जिदान र मेस्सीबीचको एउटा रोचक समानता पनि यही हो कि उनीहरूले १० नम्बर जर्सी लगाएर विश्वकप ट्रफी उचालेका छन्।
हाल नयाँ पुस्ताका खेलाडीहरू पनि यही विरासतलाई अगाडि बढाउने दौडमा छन्। लमिन यमाल, भिनिसियस जुनियर, जमाल मुसियाला र किलियन एम्बाप्पे जस्ता खेलाडीहरू १० नम्बर जर्सीका नयाँ दाबेदारका रूपमा हेरिएका छन्।
ब्राजिलमा पनि आगामी विश्वकपका लागि १० नम्बर जर्सी कसले लगाउने भन्ने विषय चर्चाको केन्द्र बनेको छ। नेयमारको अनुपस्थितिमा भिनिसियस जुनियरले उक्त जर्सी लगाउँदै आए पनि आगामी प्रतियोगितामा पुनः नेयमार लाई नै १० नम्बर सुम्पिने तयारी भएको बताइएको छ।
यता लुका मोड्रिच ले पनि आफ्नो अन्तिम विश्वकप १० नम्बर जर्सीसहित खेल्ने तयारी गरिरहेका छन्। यसरी एक संयोगबाट सुरु भएको १० नम्बर जर्सी आज विश्व फुटबलमा प्रतिभा, नेतृत्व र महानताको पहिचानका रूपमा स्थापित भएको छ।










