नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन आजदेखि सुरु हुँदै

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार ०७:४७ गते

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको यसपटकको प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता पाएको छ। साथै, नेपालमै पहिलोपटक एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) प्रयोग गरिनेछ। यसले खेलमा अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यसपटक विदेशी चर्चित खेलाडीहरूको सहभागिताले पनि प्रतियोगितालाई आकर्षक बनाएको छ।

एनपिएलको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कारसमेत पाउनेछन्।

क्यानका अनुसार प्रतियोगिताबाट करिब एक अर्ब ६० करोड रुपैयाँ बराबरको समग्र आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*