कोल्हवीमा अचेत अवस्थामा फेला परेका अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु 

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार ०९:०२ गते

कोल्हवी । बाराको कोल्हवी नगरपालिका–२ निकास टोलस्थित खेतको डिलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

 

 

प्रहरीका अनुसार २०८३ साल कात्तिक ८ गते दिउँसो करिब ३ बजेर २५ मिनेटको समयमा नाम, थर र वतन नखुलेका अन्दाजी ६० देखि ६२ वर्ष उमेरका पुरुष व्यक्ति खेतको डिलमा अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।

 

 

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले अचेत अवस्थामा रहेका ती पुरुषलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा सोही दिन साँझ ५ बजेर २० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

प्रहरीले मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

 

प्रहरीले सार्वजनिक गरेको हुलियाअनुसार मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनको घाँटीमा सेतोमा हरियो धर्सा भएको गम्छा थियो भने शरीरमा सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए।
त्यसैगरी, मृतकको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साइँली औँलामा औँठी लगाएको पाइएको प्रहरीले जनाएको छ।

 

 

 

मृतकको पहिचान खुलाउन सहयोग पुग्ने भएकाले उक्त हुलियासँग मिल्दोजुल्दो व्यक्ति हराइरहेको भएमा वा मृतकबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरी आवश्यक सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*