एनपीएलमा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ ।
आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएल सिजन–३ का लागि बैंक र जनकपुर बोल्ट्सबीच आधिकारिक बैंकिङ साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि र खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्न एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक लिस्ट ए टी–२० मान्यता प्रदान गरेको छ । यससँगै खेलाडीको व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ ।
एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले यस पटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ । मधेश प्रदेशको प्रतिनिधित्व गर्दै आएको टोलीले नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस साझेदारीले क्रिकेटमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्न, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न र युवा सशक्तीकरणमा योगदान पुर्याउन सहयोग गर्ने बताए ।
उनका अनुसार बैंकको भूमिका जर्सीमा लोगो राख्नेमात्र नभई नेपाली क्रिकेटको विकास र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउनु पनि हो । जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ ।
त्यस्तै, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गर्दै सहकार्यले टोलीलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्राबीच समानता रहेको उल्लेख गरे । पहिलो संस्करणको विजेता टोलीले यस पटक पनि उपाधि जनकपुर फर्काउने लक्ष्य राखेको उनको भनाइ छ ।
आईसीसीको आधिकारिक मान्यताले प्रतियोगितालाई खेलाडीका लागि थप महत्त्वपूर्ण बनाएको उल्लेख गर्दै खतिवडाले बैंकसँगको सहकार्यले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ सहयोग पुग्ने बताए । साथै, मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धतालाई यस साझेदारीले थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा योगदान गर्ने अवसरका रूपमा यस सहकार्यलाई लिएको जनाएको छ ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जारी गरेको जानकारीअनुसार बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।










