तराई–मधेसको कथा बोकेको श्रेयज सुवेदीको ‘बहुरूपी’ कथासङ्ग्रह लोकार्पण

कोल्हवी न्यूज
२०८२ बैशाख ९, मंगलवार १६:५३

तराई–मधेसका भूगोल, भाषा, संस्कृति, समाज र जीवनशैलीमा आधारित कथावस्तु बोकेको कथासङ्ग्रह ‘बहुरूपी’ एक नयाँ प्रयोगसहित लोकार्पणमा आएको छ । कथाकार श्रेयज सुवेदीद्वारा लिखित पहिलो कथासङ्ग्रह ‘बहुरूपी’ शनिवार काठमाडौँका ७ स्थानमा एकैसाथ पाठकहरूसँगको प्रत्यक्ष अन्तरक्रिया, पुस्तक हस्ताक्षर तथा बिक्रीमार्फत सार्वजनिक गरिएको हो ।

काठमाडौँको बालुवाटारस्थित बुक्स मण्डला, थापाथलीको चियावाला, सुनधारास्थित सिभिल मल, बानेश्वरको आइप्लेक्स मल, ललितपुरको लबिम मल, झम्सिखेलको चियामाया र पिमवहालमा राखिएको बुक स्टलमा पुगेका पाठकहरूले ‘बहुरूपी’ खरिद गर्दै फरक अनुभव लिएका थिए ।

सिनेमाको शैलीमा प्रचार गरिएको पुस्तक लोकार्पणलाई लिएर पाठकहरू उत्साहित देखिएका थिए । पुस्तक बजार व्यवस्थापनमा नयाँपन देखिएको बताउँदै बुकहिल प्रकाशनका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, ‘कतिपय पुस्तकहरू राम्रा हुँदाहुँदै पनि लक्षित पाठकमा पुग्न सक्दैनन् । फरक शैलीमा प्रचार गर्दा पाठकको जिज्ञासा र चासो बढ्न सक्छ । बहुरूपीमा हामीले यही प्रयोग गरेका हौँ ।’

सधैँ शान्त बस्न रुचाउने श्रेयज सुवेदी आफैँ पनि यति फरक शैलीमा पुस्तक सार्वजनिक हुनुमा खुसी देखिए । ‘मेरा कथाहरूमा मधेसको माटो, मनोविज्ञान र सपना छन्,’ उनले भने, ‘मेरो लेखनमा मेरो मौलिकता मिसिएको छ, त्यसैले लोकार्पण पनि केही फरक होस् भन्ने चाहना थियो ।’

१५ वटा कथाहरूलाई ६ खण्डमा विभाजन गरिएको ‘बहुरूपी’ मधेसको परिवेश, परिश्रमशील जीवनशैली, सांस्कृतिक विविधता, युवाका सपना र सङ्घर्ष तथा सामाजिक यथार्थतासँग गाँसिएको छ । वीरगञ्जलगायत मधेसको ग्रामीण र सहरी जीवनलाई कथा बनाउँदै ल्याइएको यस कृति मार्फत लेखकीय धारणा, प्रस्तुति र शैलीमा समेत नयाँ प्रयोग गरिएको देखिन्छ ।

बुकहिलले विशेष महत्वका साथ बजारमा ल्याएको २२८ पृष्ठको पुस्तकको मूल्य ५५५ रुपैयाँ रहेको छ । यद्यपि यो श्रेयजको पहिलो कथासङ्ग्रह हो, उनले यसअघि विभिन्न सञ्चार माध्यममा प्रकाशित गरेका कथाहरूले पाठकको ध्यान खिचिसकेका छन् । सरल शैली, गहिरो विषयवस्तु र स्थानीयपनले भरिएको ‘बहुरूपी’ कथासङ्ग्रहले मधेसका कथाहरूको फरक स्वाद दिने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*