मैथिली भाषा–साहित्यको प्रवर्द्धनमा थप लगानी गरिने: मधेस सरकार

कोल्हवी न्यूज
२०८२ फाल्गुन ६, बुधबार १३:०० गते

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आगामी दिनमा थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

जनकपुरधाममा आयोजित ‘साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ को उद्घाटन समारोहमा मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषाको रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले महोत्सवहरू भाषा र संस्कृतिको जगेर्ना मात्र नभई स्थानीय पहिचान र गौरव संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।

महोत्सव मैथिली विकास कोष द्वारा आयोजना गरिएको छ र मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षि जनक विश्वविद्यालयको सह–आयोजनामा सञ्चालन भएको हो। कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पट्टेल, प्रदेश सभा सदस्य रामसरोज यादव र वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले पनि आफ्नो विचार प्रस्तुत गरे।

चार दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृति तथा सामाजिक–आर्थिक क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्व र कलाकारहरूको सहभागिता रहेको छ। महोत्सव फागुन ८ गतेसम्म चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*