सामाजिक सञ्जाल प्रयोगमा ढिलाइ बालबालिकाको मानसिक स्वास्थ्यका लागि उपयोगी
एजेन्सी । बालबालिकाले सामाजिक सञ्जालको प्रयोग सुरु गर्ने समय उनीहरूको मानसिक स्वास्थ्यसँग जोडिएको हुन सक्ने एक अध्ययनले देखाएको छ। अध्ययनले सामाजिक सञ्जालमा प्रवेश गर्ने उमेर केही वर्ष पछाडि सार्न सके बालबालिकाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने निष्कर्ष निकालेको हो।
अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरी तथा उनीहरूका अभिभावकलाई सहभागी गराइएको थियो। अध्ययनमा कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न थालेका बालबालिकामा चिन्ता र डिप्रेसनका लक्षण बढी देखिने पाइएको छ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरका अनुसार सामाजिक सञ्जालको खाता छ कि छैन भन्नेभन्दा कति उमेरमा पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालियो भन्ने विषय बढी महत्त्वपूर्ण देखिएको छ।
अध्ययनमा सहभागी करिब ७० प्रतिशत किशोरकिशोरीले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए। झन्डै आधासँग आफ्नै सामाजिक सञ्जाल खाता रहेको र उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गरेको पाइएको थियो।
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको अध्ययनले प्रतिबन्धप्रतिको उनीहरूको सम्भावित व्यवहारबारे पनि जानकारी दिएको छ। करिब २५ प्रतिशतले सामाजिक सञ्जाल पूर्ण रूपमा छाड्ने बताएका थिए भने ३४ प्रतिशतले खाता नखोली प्रयोग गर्ने योजना सुनाएका थिए। ३५ प्रतिशतले भने प्रतिबन्ध छल्दै खाता चलाउने उपाय खोज्ने बताएका थिए।
अनुसन्धानकर्ताहरूले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य जोगाउने एउटा प्रभावकारी उपाय हुन सक्ने बताएका छन्। तर प्रतिबन्ध मात्र पर्याप्त नहुने भन्दै सुरक्षित डिजिटल बानी, अभिभावकीय निगरानी र उचित मार्गदर्शन पनि आवश्यक रहेको अध्ययनले औँल्याएको छ।










