नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशको छैठौं सभा जनकपुरमा सम्पन्न

कोल्हवी न्यूज
२०८३ भाद्र २७, शनिबार १८:३१ गते

जनकपुरधाम – नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मधेश प्रदेश कार्यसमितिको छैठौं सभा आज जनकपुरधाममा सम्पन्न भएको छ। प्रदेश सभामुख माननीय राम अशेष यादवको प्रमुख आतिथ्यमा सम्पन्न सभामा मधेश प्रदेशका आठवटै जिल्लाका शाखा सभापतिहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा डा. रामपरीक्षण यादव, डा. रामज्ञान यादव, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार रामसेवक यादव, जमुना भुजेललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठान मधेश प्रदेशका संयोजक माथुर प्रसाद यादवले गर्नुभएको थियो।

 

 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभामुख राम अशेष यादवले नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाफारहित सामाजिक संस्थाका रूपमा रहेर मुटु रोगको रोकथाम तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

 

 

मुटु रोग पछिल्लो समय समाजमा बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखापरिरहेको उल्लेख गर्दै उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको रोकथाम, नियमित स्वास्थ्य परीक्षण तथा जनचेतना विस्तारमा जोड दिनुपर्ने बताउनुभयो। प्रतिष्ठानले समुदायस्तरमा गर्दै आएको कामलाई अझ प्रभावकारी बनाउन सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

 

 

 

सभामा प्रतिष्ठानको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा मुटु रोगसम्बन्धी जनचेतना कार्यक्रमलाई प्रदेशका सबै जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

 

 

 

कार्यक्रममा सहभागीहरूले मुटु रोगबाट बच्न स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित खानपान तथा समयमै स्वास्थ्य परीक्षणको आवश्यकता रहेकोमा जोड दिएका थिए।कार्यक्रमको सञ्चालन नेपाल हृदयरोग निवारण प्रतिष्ठान मधेश प्रदेशकी कोषाध्यक्ष सुनिता कुमारी यादवले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*