हेटौंडा–८ मा निःशुल्क बृहत् स्वास्थ्य शिविर, ४६० जनाले लिए सेवा
मकवानपुर,हेटौंडा उपमहानगरपालिका–८ मा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ४६० जना स्थानीयवासी लाभान्वित भएका छन्। टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रिसर्च सेन्टरमा शिविर सञ्चालन गरिएको हो।
हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को सहयोग तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, बालरोग, नाक, कान तथा घाँटी, दन्तरोगलगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श, विभिन्न रोगसम्बन्धी प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरणसमेत गरिएको आयोजकले जनाएको छ।
टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ का अध्यक्ष कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, कार्यक्रम संयोजक चिरञ्जीवी चुडाल, नगर कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्का, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो।
त्यस्तै निवर्तमान नगर कार्यपालिका सदस्य यशोदा उप्रेती, नगर समन्वय समितिका सचिव शुशिला मल्ल, सदस्यहरू सुमित्रा पाण्डे र कमला पौडेल, सुपेन्द्र कार्की, रोजिता दंगाल तथा वडा समन्वय समितिका उपाध्यक्ष भानु गौतम, सचिव अर्जुन दुलाल र कोषाध्यक्ष राम कोइरालालगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता शिविरले समयमै स्वास्थ्य परीक्षण तथा रोग पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले नागरिकको स्वास्थ्य, सरसफाइ तथा सामाजिक सेवाका क्षेत्रमा टोल विकास संस्थामार्फत निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष कुमार केसीले वडावासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिता रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।










