दसैँका कारण सर्‍यो भिटामिन ‘ए’ कार्यक्रम, कात्तिक १७ र १८ गते खुवाइने

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार १५:२५ गते

सरकारले यस वर्ष कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै सरकारले पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गतेको सट्टा कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।

कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।

कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य सुरक्षा, पोषण अवस्था सुधार तथा जुकाको संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*