केही त सोचौं

पछिल्लो समय कोभिड १९ को तेस्रो लहरले अभिभावकलाई सताइरहेको छ । आफ्ना छोराछोरी वा नातिनातिना विद्यालयीय उमेर भएर पनि विद्यालय जाने अवस्था सिर्जना भएको छैन । अनि अर्को चिन्ता राम्रोसँग हिँड्न नसक्ने र नबोल्ने बालाबालिकाका लागि यस्तो चिन्ता थपिएको हो । अचेल बालबालिका बामे सर्न सुरु गर्दै गर्दा उनीहरूलाई त्यसो गर्न दिइँदैन, हिँड्ने बेला हुँदा हिँड्न दिइँदैन र तोतेबोलीमा दोहोरो कुरा गर्ने समय अभिभावकसँग हुँदैन । यसै कारण उनीहरू न त बोल्ने समयमै बोल्नै सक्छन्, न हिँड्ने समयमै हिँड्नै सक्छन् । यो सबै ढोँगी प्रवृतिले गर्दा यथार्थमा नरमाएर कृत्रिमतामा रमाउन चाहनेहरूले आफ्ना ती कलिला बालबालिकालाई प्राकृतिक रूपमा गर्नुपर्ने व्यवहारको साटो मोबाइल, ट्याब र टेलिभिजनमा व्यस्त राखिदिएपछि उनीहरूले न सिक्न सक्छन्, न हिँडडुल गर्न नै । सिक्छन् त केवल एक्लै बस्न र रमाउन । सिक्छन् त केबल विधृति र विसङ्गतिका पाइलाहरू ।
सिक्ने समयमा उनीहरूलाई आफ्ना बाबुआमाहरूले समय नदिँदा मोबाइल, टिभी वा अन्य रमाइला कुरामा व्यस्त रहँदा त्यहीको भाषा मात्रै बोल्छन् । हान् – हान्, मार्यो- मार्यो, अँ जस्ता अनेक खेलका शब्दहरु मात्र जान्ने बालबालिकाहरुले बाबा, आमा, काका, मामा, जामा, माम, पापाजस्ता शब्द बोल्नै सिक्दैनन् । यसले गर्दा उनीहरूको भाषा ज्ञान कमजोर भइरहेको मात्र हैन बोल्ने क्षमतामा समेत ह्रास आइरहेको कुरा जगजाहेरै छ । जुन रुपले घरैको वातावरणबाट बालकले सिक्नु पर्ने त्यो सिर्जना हुन सकेको छैन l अहिले पनि आफ्ना छोराछोरी हुर्काउन वा उनीहरूको हेरचाहका लागि आमाबाबुलाई आफूले समय दिनुभन्दा मोबाइलको सहारा लिने गरेको कुरा त छर्लङ्गै छ । यो नै अहिलेको सबभन्दा डरलाग्दो रोग भएको छ l आफ्ना छोरा छोरीको साथी मोबाइल हुँदा पनि कानमा बतास हालेर बस्ने अभिभावकको सङ्ख्या नगन्य रुपले वृद्धि हुँदै गएको छ l यसबाट उनीहरूको शारीरिक र मानसिक विकासमा मात्र नभई सिकाइमै पनि ठूलो पर्खाल खडा भइरहेको छ । उनीहरूका खानेकुरा, खेल्ने कुरा र बोल्ने साथी नै मोबाइल, टिभी भएपछि सिक्नैपर्ने, घरमै गर्नु पर्ने तथा विद्यालयमै गर्नैपर्ने काम भने गर्न नसक्ने भइरहेका छन् ।
पहिला पहिलाका अभिभावकहरुले बालबालिकालाई समय प्रयाप्त दिन सक्दा सही मार्ग समातेका थिए तर अहिलेकालाई पैसो पैसो भन्दा पनि फुर्सद नभएको हुन सक्छ l बूढापाकाले भन्ने गरेको र व्यवहारमा पनि उतारेको कुरा के हो भने “च्यापुले माटो नखाएसम्म बालबालिका हिँड्न सक्दैनन्, बोल्न सक्दैनन्” यसको अर्थ बालबालिका हुर्काउन, उनीहरूको शारीरिक र मानसिक विकासका लागि प्राकृतिक रूपमै विद्यार्थीको रुचि, चाहना र क्षमता अनुसार सिक्ने वातावरण सिर्जना गरियो भने जस्तोसुकै कठिन विषयवस्तु पनि सजिलै सिक्न सक्छन् भन्ने कुरालाई चरितार्थ गर्न सक्नु पर्छ । अचेल त यसको विपरीत माटोमा टेके दाग लाग्छ रे फोहोर हुन्छ रे, बूढाबूढीसँग बोले पाखे हुन्छन् रे, हिँड्न खोजे हात दिने अनि समाएर हिँडाउने, लडिन्छ भनेर हिँड्नै नदिने अनि घरभन्दा बाहिर निस्कनै नदिने, एउटा कोठामा लगेर हातमा मोबाइल र टिभी घन्काएर छाडिदिने l यसो गर्दा सिक्न चाहानेका लागि पनि बन्द भईदिन्छ l बाबुआमालाई पैसा कमाऊन पाए आनन्द । यही आनन्दको फल हो बोल्न नसक्नु, यही आनन्दको फल हो हिँड्न नसक्नु, यही आनन्दको फल हो आफन्त आउँदा टाडा हुनु, यही आनन्दको फल हो पछि वृद्धाश्राममा लैजानु, यही आनन्दको फल हो आफ्नै खुट्टामा अभिन नसक्नु ।
पछिल्लो समय चिकित्सकले बालबालिकालाई मोबाइल दिन बन्द नगरे उनीहरूको बोली फुट्न नसक्ने, सिक्न नसक्ने, आफन्त आउँदा संस्कार नजान्ने चेतावनी कतिपयलाई दिए तापनि अटेर गरेर बसिरहेका छन् । पछि पुर्पुरोमा हात राख्नुको विकल्प नहुने कुरा थाहा हुँदा हुँदै पनि पैसोको पछि लाग्दा परिणाम गलत आउन सक्ने झ्यालझैँ छर्लङ्ग छ । त्यसैले आफ्ना छोराछोरी रुन थाले भने हातमा मोबाइल थमाएर खुसी पार्नुको सट्टा समय दिएर गफ गर्ने हो भने पक्कै पनि सोचेअनुरूप नतिजा आउन बेरै लाग्दैन l बेलुका घरमा सँगै खाना खाने, फुर्सदमा जीवनका गाथाहरु सुनाउने आफू कसरी यहाँसम्म आइपुगियो भनेर, आफन्त इष्टमित्रको बारेमा जानकारी गराउने, विद्यालयका कक्षाकार्य, गृहकार्य के कस्तो भयो ? शिक्षकसँग भएका कुराकानीहरु सोध्ने, आफूले पाएका कुनै पुरस्कारहरु छन् भने त्यो कहाँबाट कसरी पाइयो त्यसको जानकारी गराउने । अन्तमा कुनै पनि मोबाइल वा अन्य केही ग्याजेट दिँदा परिणाम कति गम्भीर र घातक रहेछ भन्ने अब आएर बुझ्न थालेका छन् अधिकांशले अभिभावकहरूले । यसरी फुर्सदमा पछुताउनु भन्दा बेलैमा घैँटोमा घाम लाग्यो भने फाइदै हुन्थ्यो कि पछि ।








