बारामा साढे दुई महिनामै १ करोडभन्दा बढीको अवैध सामान बरामद
बाराको सीमाक्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ। पछिल्लो साढे दुई महिनाको अवधिमा मात्र एक करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिनु यसैको प्रमाण हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण मुख्यालय बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले पदभार सम्हालेपछि सीमामा निगरानी कडा पारिएको छ। उनले कार्यभार सम्हालेयता १ करोड १४ लाख रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन्।
हालैका कारबाहीहरूमा पनि उल्लेखनीय सफलता हात परेको छ। वैशाख १ गते सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले करिब १३ लाख रुपैयाँ बराबरका कपडा, चकलेट र मोबाइलका पार्टपुर्जा बरामद गरेको थियो।
त्यसैगरी, बिओपी पिपरपातीको टोलीले अर्को दिन मोटरसाइकलसहित १ लाख ५७ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लियो। बिओपी बरैनियाबाट खटिएको टोलीले समेत मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको अवैध कपडा फेला पारेको छ।
गणपति सिलवालका अनुसार तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमाक्षेत्रमा “शून्य सहनशीलता” नीति लागू गरिएको छ। चोरी–पैठारी रोक्न विशेष टोलीहरू २४सै घण्टा परिचालन गरिएको र आकस्मिक जाँचलाई थप प्रभावकारी बनाइएको उनले बताए।








