२०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’लाई प्रदान गर्ने

कोल्हवी न्यूज
२०८२ भाद्र १५, आईतवार ०७:२३ गते

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गर्ने भएको छ। पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

भुसालकृत ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत्रूपमा समेटेको छ ।

पद्मश्री साधना प्राप्त गर्ने शर्माले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको प्रतिष्ठानले बताएको छ।

शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा.डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन्। उनी साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय छन्।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ। यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*