मकवानपुरगढीमा तामे सालक बच्चासहित फेला
मकवानपुर-Indian pangolin अर्थात् तामे सालक मकवानपुरमा बच्चासहित सुरक्षित रूपमा फेला परेको छ। मकवानपुरगढी गाउँपालिका–३ मा स्थानीयले भेट्टाएको उक्त दुर्लभ वन्यजन्तुलाई प्रहरीमार्फत सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा राखिएको हो।
स्थानीय मनिष देवकोटाले बुधबार बिहान घर नजिकै करिब १२ किलो तौलको माउ सालक र ३ किलो तौलको बच्चासहित फेला पारेर इलाका प्रहरी कार्यालयमा बुझाएका थिए। त्यसपछि सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूह द्वारा निर्माण गरिएको ‘केज’मा सुरक्षित रूपमा छाडिएको छ।
सालक संरक्षणमा स्थानीय जनप्रतिनिधि, वन कार्यालयका अधिकारी तथा सामुदायिक वनका पदाधिकारीहरूको सक्रिय सहभागिता देखिएको छ। यसले समुदायस्तरमा संरक्षणप्रतिको चासो बढ्दै गएको संकेत गर्दछ।
रानी सामुदायिक वनले २०६२ सालदेखि सालक संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। जनचेतनामूलक कार्यक्रम, तालिम, विद्यालय अभियान र संरचना निर्माणमार्फत हाल उक्त क्षेत्रमा करिब पाँच दर्जन सालक संरक्षणमा रहेको जानकारी दिइएको छ।
मकवानपुर क्षेत्रमा Chinese pangolin अर्थात् कालो सालक र तामे सालक दुवै प्रजाति पाइन्छन्। जिल्लाका करिब एक सय सामुदायिक वन क्षेत्रमा सालक देखिने गरिएको छ।
किसानमैत्री वन्यजन्तुका रूपमा चिनिने सालकले माटो खुकुलो बनाउने र बालीलाई हानि नगर्ने भएकाले यसको संरक्षण महत्त्वपूर्ण मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक संरक्षित प्रजाति हो, जसको सिकार वा अवैध कारोबारमा कडा सजायको व्यवस्था रहेको छ।








