हास्यव्यङ्ग्य: स्वास्नीमान्छेका पुच्छरहरू

कृष्ण प्रधान
२०७८ पुष २२, बिहीबार ०५:५६

          कृष्ण प्रधान

यो संसारले दुइ-दुइवटा बड़े-बड़े विश्वयुद्ध देखिसकेको छ । त्यसपछि गृहयुद्ध, खण्डयुद्ध, सन्त्रातस, आतङ्कवादी आक्रमण, आत्मघाती आक्रमण अद्यापि देखिने रहेको छ । यी युद्धहरूले जीवन र सम्पत्ति कति खति भएको छ त्यसको हिसाब किताब कसले राख्ने ? यी सबै काण्डहरू सृष्टिकर्ताहरूकै इशारामा भएको हो । सृष्टिकर्ताले तिनको भँड़ार निमिट्यान्नै पारेकै हुन् । कारण सृष्टि गर्नु र त्यसको विनाश गर्नु तिनको एकमात्र काम हो ।
भगवानलाई यो संसारको विराट कम्पनी ठानेको छु । यो कम्पनीमा विभिन्न प्रकारका कारखानाहरू छन् । जहाँ के के निर्माण हुन्छन् हुन्छन् । बाघ विभागमा बाघ, बाख्रा विभागमा बाख्रा । सबैभन्दा सर्वोच्च विभागमा मानिस निर्माण गरिन्छ । भगवानका बड़े-बड़े, जण्डा-जण्डा तक्निविद्हरूको असाधारण बुद्धिद्वारा साँचो (फर्मा) तयरा पारी मशिनहरू फिट गरेर मानिस भन्ने वस्तु निर्माण गरिन्छन् । टाउकामा ‘सर्किट’ र ‘डायग्राम’ स्वयम् भगवानले तयार पारी फिट गरिदिन्छन् । कसैलाई थाहा छैन…भगवानको यो कुन ‘प्लान’ वा ‘ट्याक्टिक्स’ हो । बनेटभित्र के छ ? कसैलाई थाहा छैन…खोलेर हेऱ्यो कि सर्वनाश ।
साँच्चै भगवानको ‘ट्याक्टिक्स’ वा ‘प्लान’ तुलनाहीन छ । आफ्नो ‘कपी’ आफै तयार पार्छन् । लाग्छ प्रत्येक नै एकेकवटा जेरक्स मशिन । स्वास्नीमानिसको भुँड़ीमा मानिस तयार पार्ने मशिन । साइऩज अनुसारको । छुचन्द्रोको भुँजड़ीभित्र छुचन्द्रो तयार पार्ने मशिन । साइज अनुसारको ‘माल’ (goods) ठीक समय निस्कन्छ । त्यसपछि बढञ्न थाल्छ । हात्ती हात्तीजस्तो ; बाख्रा बाख्राजस्तो ।
मानिस निर्माण गर्दाको समयमा भगवानजस्ता महान लब्धरप्रतिष्ठित जण्ड इञ्जिनियरलाई कम्ति साह्रो परेन होला । माथापच्ची गर्नु पऱ्यो होला । पाँच फुटदेखि लिएर साँड़े सात / आठ फुटसम्मको उचाइँ भित्रमा मानिस निर्माण गर्नुपर्ने । जीउका दुइतिर हात तुर्लुङ्ङै झुण्ड्याउनु पर्ने, एक जोड़ी खुट्टा । खाएर पचाउनुलाई दुइखुट्टामाथि झोलाजस्तो भुँड़ी । लोग्ने मान्छेको भुँड़ी निर्माण गर्न ता भगवानलाई कुनै टाउको दुखाइ भएन; गाह्रो परेन, धेर सोच्नु परेन तर स्वास्नीमान्छेको भुँड़ी निर्माण गर्न भने कम्ति ता टाउको दुखाइ भएन होला । भगवानको दाँतबाट तरतरी पसिना नचुहेको होइन । खाएर पचाउने च्याम्बर अलग्गै; मान्छे भन्ने अर्को जेरक्स राख्ने च्याम्बर अलग्गै । नारायण….नारायण….!
त्यतिमात्र होइन…मान्छे निर्माण गरेर मात्र पनि भएन…बरर बोल्ने हुनुपऱ्यो । ठइँ…ठइँ हिँड़्ने हुनुपऱ्यो । आफ्नो मनको भावना आदान-प्रदान गर्नसक्ने हुनुपऱ्यो । त्यो पनि भयो…मान्छेको पछिल्तिर अरु पशुहरूको जस्तै पुच्छर पनि वेल्डिङ गरेर जोड़िदिए भगवानले । आफ्नो पछिल्तिर पुच्छर वेल्डिङ गरी जोड़िएको देखेर लोग्नेमान्छे भन्ने जनावर खुशीले उफ्रीपाफ्री गर्न थाल्यो । तर स्वास्नी मान्छेहरूले चाहि आफ्नो पछिल्तिर हात्तीको वा बाँदरको जस्तो पुच्छर जोड़िदिएकामा साड़ी. प्याण्ट, वा सलवार-कुर्ता, स्ल्याक्स, लेगिङ्गस् आदिको पछिल्तिर पुच्छरको निम्ति छेँड़ पार्नु पर्ने कुरा सोंचेर भक्कुमारी विरोध गरे ; आपत्ति जनाए । वाशरुमभित्र पस्दा पनि पुच्छर झोलिएर पुच्छर सम्हाल्नु कि अरु पनि के के सम्हाल्नु भनी भगवानसमक्ष आफ्ना असुविधाबारे वृतान्त नालीबेली लाए ।
आफूले नै निर्माण गरेका यी स्वास्नीमान्छेहरूसित भगवानले निकै तर्क गर्नुपऱ्यो । आफूले पहिरिएको सलवार कुर्ता, प्याण्ट वा साड़ी, स्ल्याक्स, लेगिङ्ग्स् आदि पुच्छरको निम्ति छेँड़ नपारी लुगाबित्रै गुटमुटाएर घुसारेर राख्ने सल्लाह दिए भगवानले स्वास्नीमान्छेहरूलाई । पहिरिएको लुगाभित्र पुच्छर गुजुल्टो पारेर घुसार्दा हिँड़नु बस्नु बाहेक पनि इत्यादि कुरामा निकै अप्ठ्यारो पर्नाका साथै पछिल्तिर गजधम्म बसेको फर्सी वा तानपुराजस्तो नितम्बको शोभा, सौन्दर्य र गरिमा नै खजमजिने तर्क राखेपछि यी स्वास्नीको पछिल्तिरबाट भगवानले पुच्छर प्वाक्कै निकालिदिए । तमाम् स्वास्नीमान्छेहरू भक्कुमारी खुशी भए ।
कुनै सरकारी अस्पतालका सिष्टर्सले ता आफ्नो बान्किलो नितम्बको डिलमा पुच्छर टाँसिदिएको विरोधमा झण्डै ब्लड ब्याङ्कमा थुपारी राखेको ब्लड खाने धम्कीसमेत दिएको कुरा विश्वस्त सूत्रबाट थाहा भएको छ । एकजना सिनियर सिष्टरले ता भनिन् पनि – भगवान सर ! (डाक्टर श्रेष्ठ, डाक्टर चक्रपाणी भनेजस्तो) तपाईले हामीलाई सिष्टर्सको निम्ति निर्माण गर्नुभो । हामी आभारी छौं । नर्सिङ स्टाफको स्कर्टको पछिल्तिर पुच्छार ता सुठीसाह्रै घिनलाग्दो भएन र ! पछिल्तिरको पुच्छरले ड्यूटीमा हामीलाई कस्तो अप्ठ्यारो हुन्छ…हजूरे त्यो सोंच्नुभएको छ ?
भगवान इञ्जिनियर गम्भीर मुद्रामा बोले – अरे ! तपाई सिष्टर्सलाई ता यो पुच्छरले कुनै असुविधा नहुनुपर्ने । स्कर्टको पछिल्तिर पुच्छरकै साइजको छेँड़ पारेर बाहिर निकाल्नोस् अऩि राम्ररी सेम्पो लाएर धोइपखाली कोरीबाटी गरेर आफ्नो स्कर्टको अघिल्तिरको पाकिटमा ख्वाप्पै हाल्नोस् ।
सिष्टर बोलिन् – अप्पुइ! कहाँ हुन्छ हौ…स्कर्टको गोजीमा मोबाइल राख्नुपर्छ…फेरि पुच्छर पनि त्यहीँ खादनु ? मोबाइल र पुच्छरले गोजी कस्तो पुक्क देखिऩ्छ । घिनलाग्दो न घिनलाग्दो । इट इज इम्पोसिबल ।
छक्क पर्दै भगवान बोले – अरे ! ड्यूटी आवरमा पनि तपाईहरू आफ्नो सेल बोक्नुहुन्छ ? वाट अ सरप्राइज !
थोरै बोल्ने, लजिली स्वभावकी सिष्टर सुरिलो अनि मिठाइलो स्वरमा बोलिन् -अरु को ता को’नि तर भगवान सर ! मेरो ता म्यासेज र मिस्ड कल आइबस्छ । कल रिसिभ गरेन र म्यासेजको रेसपोन्स नगरे मेरा फेसबुके साथीले मेरो सातोपुत्ला खानु मात्र होइन कस्तो डरलाग्दो बिच्किन्छन् । कस्ता छुच्चा पो छन् ता मेरा फेसबुके साथी । नाइँ म ता पुच्छर लाउँदिनँ है । फेरि हामी सिष्टर्सलाई यो पुच्छरको के काम ? दिनभरि वार्डमा म्याराथानभन्दा आगर कुदिरहनुपर्छ । कतै अल्झियो भने…त्यतिमात्र होइन भगवान सर हजूर ! ओटीमा डाक्टरले अपरेशन गर्दै गरेका बेला झुक्किएर हतारमा इऩ्स्टुरमेण्ट ठानी पुच्छर नै तानिदिए भने नि !
ठलो स्वर भएकी ढोक्सी सिष्टर बोलिन् -भगवान सर ! वार्डमा भूइँभरि प्यासेण्टहरू रै बरण्डै लड़िरहेका हुन्छन् । उनीहरूलाई इञ्जेक्सन लाउँदा घूँड़ा टेकेर कि चाहिँ बसेरै इञ्जेक्सन पुस गरिदिनुपर्छ । कुनै कुनै प्यासेण्ट इञ्जेक्सन देख्दै डराएर हाम्रो जीउ समात्ने प्रयास गर्छन् । इञ्जेक्सनले च्वास्स घोचेको बेला मोराहरूले हाम्रो पुच्छर नै तानिदिए भने ? भरै पुच्छर चुँड़ेर पुच्छर कहाँ. सिष्टर कहाँ, इञ्जेक्सन कहाँ अनि ट्रे कहाँ भयो भने नि !
उपस्थित सबै सिष्टर्सले हो मा हो मिलाए ।
प्रसङ्ग बङ्ग्याउने ताकमा भगवान मुस्कुराउँदै बोले – तपाईहरूको डाक्टर्सले टाई लाएर आउँछन् होइन ?
सबै सिष्टर्स एकै श्वासमा बोले – यस सर भगवान । टाई ता हाम्रा डाक्टर्सको शान हो । टाई सुटमा हाम्रा डाक्टर्सलाई कस्तो स्मार्ट र टाइडी देखिन्छन् । टाई नलगाएको दिन ता हाम्रा सरहरूलाई पुच्छर नभाको बाँदरजस्तो ठुटे देखिन्छ भगवान सर ।
सृष्टिकर्ता भगवानको गम्भीर भाषण -यस…यस… । खास कुरा के हो भने, डाक्टर्स र सिस्टर्सलाई स्मार्ट र टाइडी देखियोस् भनेर ता डाक्टर्सको नेक टाईसित म्याचिङ मिलाउन सिस्टर्सको पछिल्तिर झुण्ड्याउने योजना बनाएको हुँ । डाक्टर्सको नेका टाई अनि सिस्टर्सको ब्याकमा ब्याक टाई । एकदम अरग्यानिक ब्याक टाई । टाँस्ने मेरो क्षुद्र प्रयास मात्र ।
अर्की ढोई सिष्टर प्याच्चै बोलिन् – भगवान सर ! डाक्टर्सले टाई फेरी फेरी लाएजसम्तो हामी सिस्टर्सले पुच्छर फेरी फेरी लाउऩ ता कहाँ सक्छौं ? भन्नु ता !
ती ढोई सिष्टरको काँध थप्थपाउँदै एकजना डाक्टरले आफ्नो विचार राखे – अरे सिष्टर ! तपाईहरू किन सुर्ताउनुहुन्छ ? तपाईहरूले आफ्नो केश रङ्गाएजस्तै पुच्छर पनि हप्तैपछि रङ्गाउनुहोस् । एक हप्ता कालो, अर्को हप्ता रातो, कुनै हप्ता कैलो, फुस्रो जस्तो ड्रेस त्यस्तै कलर । हामी डाक्टर्सका रङ्गीबिरङ्गी टाईहरू तपाईहरूका कलर कलरका पुच्छर देखेर लाजले झुकेम भने मलाई भन्नोला ।
डाक्टर्सको कुरा सुनेर तमाम् सिष्टर्स रुपीजस्तै कराए । उनीहरू पुच्छर झुण्ड्याउने पक्षमा ठ्याम्मै छैनन् भनी मुस्कुराउँदै भगवानलाई दङ्गाउनुसम्म दङ्ग्याए । सिष्टर्सको टेसिला मुस्कान र मिठाइला दङ्ग्याइँले भगवानलाई नून पानी (सलाइन वाटर)-को काम गऱ्यो क्यारे उनी मक्ख र पक्क परेर सिष्टर्सको पछिल्तिर पुच्छर नटाँस्ने अड़ान लिए । तर सिष्टर्सलाई मात्रै काखी च्याप्दा अन्य स्वास्नीमान्छेहरू पनि भगवानसित बिच्किने डरले उनले तमाम् स्वास्नीमान्छेहरूलाई पनि पुच्छर टाँस्ने कुरामा माफ दिए । र नै अचेल स्वास्नीमान्छेहरू पुच्छरको झ्याउलादेखि बाँचेका हुन् ।
हुन पनि हो नि, त्यो काम न दामको मासुको लोली किन झुण्ड्याइरहनु ? पुच्छर पनि फोल्डिङवाल भए पो ! कम्तिको पनि कसैले निहुँ खोज्दा स्वाट्टै खोलेर पुच्छरै पुच्छरले स्वाम् कि स्वाम् सोँड़्क्याउनु ? नाथे एउटा एक हाते पुच्छर खोल्नुलाई आफ्नो ड्यूटी सकेर सिष्टर्स हतार-हतार ‘चेञ्जिङ रुम’-मा पसेजस्तो हतार समयमा ‘चेञ्जिङ रुम’ कहाँ खोजिरहनु ? फेरि ड्रेस खोलाखोल् पार्ने झ्याउला को गरिबस्ने ?
साँच्चै ! यी सिष्टर्सले विरोध नगरेका भए वा भगवान सामु नदङ्ग्यादिएका हुँदा हुन् ता आजको दिनसम्म स्वास्नीमान्चेहरूको पछिल्तिर पुच्छर झुण्डिरहनेत्यो होला ! कतिवटा कुरामा असुविधा भए पनि कतै बस्दा भने यो पुच्छरले थाङ्नाको काम भने अवश्यै गर्नेथ्यो । होटल रेष्टुरेण्टका कुर्सीहरू पुच्छरले पुछेर ढुक्कैले बस्न सकिन्थ्यो । आफ्ना पछिल्तिरको पुच्छरलाई कति स्याहार्थे होलान् यी पुच्छरवाल्नी स्वास्नीमान्छेहरूले । पुच्छरको सुन्दरताको निम्ति ठाउँ-ठाउँमा पुच्छर पार्लर खोलिन्थे होलान् । सुरिला सुरिला रङ्का लिपिस्टिक…पुच्छर पनि उस्तै रङको…म्याचिङ हुने । कालो सलवार कुर्ता काले पुच्छर…रातो सल्वार रातै पुच्छर । निलो जिन्स निलै रङको पुच्छर । आह क्या म्याचिङ ! कतिले पुच्छरको कभर पनि बनाउँथे होलान् । किनभने सुन्दरता स्वास्नीमान्छे गहना हो । आफ्नो पछिल्तिर टाँसिएको वा झुण्डिएको पुच्छरको सुन्दरताको निम्ति पुच्छरवाल्नी यी स्वास्नीमान्छेहरूले के के नै गर्थे होलान् । नहुनु पर्थ्यो…तर भगवानले टाँसिदिएपछि गर्ने के ? स्याहार्नै पऱ्यो ।
अचेल ‘ब्यूटी पार्लर’-तिर स्वास्नीमान्छेहरूको धुइरो देखिन्छ । त्यहाँ आफ्नो केशराशि बान्किले र सुन्दर पार्न किसिम-किसिमका हेयर स्टाइलमा केश काटिन्छन् । जस्तो- ‘ब्वाइज कट’, ‘मशरुम कट’, ‘लेयर कट’, ‘ स्टेप कट’, ‘यू कट’, स्ट्रेट कट, ‘ चाइनिज कट’, ‘फेदर कट’, ‘ सेगी कट’, ‘लेजर कट’, ‘थाइल्याण्ड कट’, ‘भी कट’ आदि आदि । आफ्नो पछिल्तिर टाँसिएको वा झुण्डिएको पुच्छरलाई पनि आफ्नो केशराशि सुन्दर र बान्किलो पारे झैँ ‘लोथर्के कट’, ‘खरायो कट’, ‘घोड़ा कट’ स्टाइलको बनाइ माग्लान् । तर मलाई के लाग्छ भने कुनै पनि स्वास्नीमान्छे आफ्नो पुच्छरलाई ‘सुङ्गुर कट’, ‘कुकुर कट’, ‘हात्ती कट’ बनाउन चाहिँ नमान्लान् । यी सुङ्गुर, कुकुर र हात्ती कट चाहिँ साह्रै असुहाउँदिला देखिन्छन् ।
पुच्छर जस्तोसुकै किन नहोस् । स्वास्नीमान्छेहरूका पुच्छर साँच्ची नै हुँदो हो ता यो सुठीनै सेन्टेटिभ हुनेथ्यो । नाकको टुप्पोमै रिस होइन, केही भन्दियो कि पुच्छरको टुप्पोमै रिस हुनेथ्यो । श्रीमतीलाई सामान्य बिच्कायो वा रिस उठायो कि उनको पुच्छर अचानक ठाड़ो भएर रँड़ाको मच्याउन थाल्नेथ्यो । घरमा च्यापु लक हुने सम्भावना प्रशस्तै देखिन्थ्यो । छोयो कि ट्याँ….मेटाल डिटेक्टरजस्तो । स्वास्नीमान्छेहरूका पुच्छर ठाड़ो भयो कि नारायण….सेलाउन निकै समय लाग्थ्यो होला ।
कुकुरको सिक्स सेन्स हुन्छ । यो कुरा सबैले जानेकै कुरो हो । भुक्तभोगी पतिहरू स्वास्नीमान्छेको पनि सिक्स सेन्सै हुन्छ भन्छन् भन्नेहरू । अब पुच्छर थपिए पछि अझ एउटा सेन्स थपिएर यी स्वास्नीमान्छेहरू सेभेन सेन्सका धनी हुनेछन् । यसमा शङ्का गर्ने ठाँवै छैन । यी सेभने सेन्सका धनी स्वास्नीमान्छेहरूको धम्की, चुरीफुरी, घुर्की आतङ्कवादी वा माओवादीभन्दा कम्ति हुने छैन भन्ने मेरो साह्रै आना अनुमान छ ।
त्यतिमात्रै कहाँ र ? घरभित्र अहर्निश रेड अलर्ट जारी भइराखेको हुनेछ । तमाम् पतिहरू घिच्रामा खुकुरीको धार राखेर हिँड़्नुपर्नेछ । यसकारण म ता भन्छु, यी स्वास्नीमान्छेहरूको पुच्छर नभएकै वेश । पुच्छर भएकीसित सिङ जुझाउनु नै जानी जानी बारुलाको गोलामा हात हालेकै बराबर हो ।
आफ्नो पछिल्तिर पुच्छर टँसाइँको घोर विरोध गर्ने तमाम सिष्टर्सलाई सलाम । कम्तिको पनि सेभेन सेन्सका धनी आतङ्कवादी तथा माओवादी स्वास्नीमान्छेसित ता जोगिन पाइयो ।

समकालिन साहित्यबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*