थारु समुदाय र काङ्ग्रेसको झण्डा ओढाएर रामनाथ चौधरीलाई अन्तिम बिदाइ, गर्जा घाटमा अन्त्येष्टि

कोल्हवी न्यूज
२०८३ कार्तिक ३, सोमबार ०९:०६ गते

कोल्हबी । थारु कल्याणकारिणी सभा (थाकस) कोल्हबी नगर कार्यसमितिका सभापति तथा नेपाली कांग्रेस कोल्हबी नगरपालिका–१ का वडा सभापति रामनाथ चौधरीको पार्थिव शरीरमा थारु समुदाय र नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। ५३ वर्षको उमेरमा आइतबार असामयिक निधन हुनुभएका चौधरीको आइतबार राति रौतहटस्थित बकैया खोलाको गर्जा घाटमा अन्त्येष्टि गरिएको हो।

 

 

अन्तिम संस्कारका क्रममा विभिन्न राजनीतिक दलका नेता, थारु अगुवा, सामाजिक व्यक्तित्व, आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। दिवंगत चौधरीलाई अन्तिम बिदाइ गर्न गर्जा घाट पुगेका उपस्थितहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

 

 

थारु कल्याणकारिणी सभा बाराका कोषाध्यक्ष बासु प्रसाद चौधरी, थारु अगुवा भुवन प्रसाद चौधरी र सञ्जय कुमार चौधरीलगायतले उहाँको पार्थिव शरीरमा थारु समुदायको झण्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरेका थिए।

 

 

त्यसैगरी, नेपाली कांग्रेस कोल्हबी नगर समितिका सभापति बसन्त चौधरी, कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, रवीन्द्र पनुहर तथा नेपाल विद्यार्थी संघ बारा जिल्ला सभापति समीर चौधरीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

 

अन्तिम श्रद्धाञ्जली दिन बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टी कोल्हबी नगर उपसभापति जितन प्रसाद चौधरी, नेता जगदेव चौधरी, हरिओम रौनियार तथा थाकस कोल्हबी नगर समितिका कोषाध्यक्ष प्रेमनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।

 

 

 

थारु समुदायका सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहनुभएका चौधरी नेपाली कांग्रेसको संगठनमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। उहाँको असामयिक निधनले थारु समुदाय, नेपाली कांग्रेस तथा कोल्हबी क्षेत्रलाई शोकमा डुबाएको छ।

 

 

स्वर्गीय चौधरीका एक छोरा र एक छोरी छन्। उहाँको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*