देशभर १ करोड ९० लाख ९१ हजार मतदाता, आयोगले सार्वजनिक गर्‍यो अन्तिम सूची

कोल्हवी न्यूज
२०८३ आश्विन ३०, शुक्रबार १८:२२ गते

निर्वाचन आयोगले अद्यावधिक प्रक्रिया पूरा गर्दै देशभरको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। असोज ३० गते प्रकाशित अन्तिम विवरणअनुसार नेपालमा कुल मतदाताको संख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ।
आयोगका अनुसार मतदातामध्ये पुरुषको संख्या ९७ लाख ६९ हजार ८२५, महिलाको संख्या ९३ लाख २१ हजार ३३६ र अन्य समूहका मतदाता २१४ जना छन्।

यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि कायम गरिएको अन्तिम मतदाता नामावलीमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। त्यसको तुलनामा नयाँ सूचीमा १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले २०८२ चैत २२ गतेदेखि मतदाता नामावली अद्यावधिकको काम सञ्चालन गरेको थियो। यस क्रममा नयाँ मतदाता दर्ता, व्यक्तिगत विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका र दोहोरो नाम भएका व्यक्तिको विवरण हटाउने काम गरिएको थियो।

आयोगले २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समेटेर असोज १ गते प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको थियो। प्रारम्भिक सूचीमा १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको नाम समावेश थियो।
प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोध र विवरण जाँचको प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा मृत्यु भएका तथा दोहोरो नाम, नागरिकता त्याग वा रद्दलगायतका कारणबाट मतदाता सूचीमा रहेका नाम हटाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार नियमित अद्यावधिकका क्रममा ३९ हजार ८० जनाको नाम हटाइएको थियो। प्रारम्भिक सूची सार्वजनिक भएपछि थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाएर अन्तिम मतदाता नामावली तयार पारिएको हो।
निर्वाचन आयोगले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता विवरणसमेत आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*