रगत अभाव बढ्दै

कोल्हवी न्यूज
२०७८ माघ ११, मंगलवार ०९:१२ गते

कोभिड महामारीमा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीअन्तर्गत केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको खाँचो बढ्दै गएको छ। समुदायमा कोभिड
फैलिएसँगै रगत संकलनमा पनि कमी आएको छ। अर्कोतिर बुस्टर डोज लगाइरहेकाले पनि संकलन प्रभावित भएको छ।

कोभिड समुदायसम्म फैलिएको र खोपका कारण रगत संकलन प्रभावित भएको केन्द्रका कार्यकारी निर्देशक दिव्यराज पौडेल बताउँछन्। उनका अनुसार खोप लगाएको १४ दिनसम्म साइडइफेक्ट हुन सक्ने हुँदा रगत संलकन गर्न हुँदैन। केन्द्रका अनुसार दैनिक २ सय प्वाइन्ट रगतको माग छ। त्यस हिसाबले कम्तीमा दैनिक १ सय प्वाइन्ट संकलन हुनैपर्छ। तर, त्यसको आधा मात्रै संकलन भइरहेको पौडेलको भनाइ छ।

काठमाडौंमा मात्रै फल्सिमिया९अपुष्ट रगत०लगायत क्यान्सर, डाइलासिस, प्रसूतिलगायतका दीर्घ रोगका लागि कम्तीमा १ सय प्वाइन्ट रगत आपूर्ति हुनैपर्छ। फल्सिमियाको मात्रै ७० प्वाइन्ट रगत सातामा आपूर्ति हुन्छ। रक्तसञ्चार केन्द्र र कान्तिबाल अस्पतालसँग सातामा ४० प्वाइन्ट रगत फल्सिमिया भएका बालबालिकालाई दिनै पर्ने सम्झौता छ।

फल्सिमियामा ३० जना प्रौढ बिरामीका लागि रगत आपूर्ति हुनुपर्छ। यो रगतमा पनि गत सातादेखि समस्या भएको केन्द्रले जनाएको छ। शनिबार शिविर गरेर आइतबार दिनुपर्ने थियो तर मंगलबार मात्रै परिपूर्ति गर्न सकेको केन्द्रले जनाएको छ। यो साता भने बालबालिकाका लागि जसैतसै म्यानेज भएको तर प्रौढलाई परिपूर्ति गर्न गाह्रो भएको केन्द्रका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। उनले अस्पतालमा रगतको माग नघटेकाले संकलनमा कमी आएका कारण समस्या भएको बताए। ‘दिनेको संख्या घटेको छ। तर, लिनेका संख्या घटेको छैन,’ उनले भने, अप्ठ्यारो परिस्थिति आइरहेको छ। मागभन्दा आधा मात्रै संकलन भइरहेकाले उनले बताए।

काठमाडौं बाहिर पनि रगतको संकलन घटेको छ। धरान, विराटनगर, चितवनमा संकलनमा कमी आएको केन्द्रका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। पूर्व र मध्य नेपालमा रगतदान शिविरहरू पनि स्थगित भइरहेका छन्। पश्चिमको पोखरा, नेपालगन्ज र धनगढीमा भने अहिलेसम्म प्रभावित नभए पनि विस्तारै कोभिडको संक्रमण देशव्यापी भएकाले त्यता पनि प्रतिकूलता हुन सक्ने देखिन्छ।

उनले रगत अभाव बढ्दै गएकाले रक्तदान गर्न पनि आह्वान गरेका छन्। ‘रक्तदान सुरक्षित छ। रगतबाट कोभिड सर्दैन। त्यो सुखद कुरा हो,’ उनले भने, ‘त्यसकारण सुरक्षित उपाय अबलम्बन गरेर रक्तदान गरौं। उनले केन्द्रले रक्तदानको सुरक्षित उपाय अवलम्ब गरेको बताए। संकलन मापदण्ड नै बनाएर सुरक्षित उपाय अपनाइएकाले निर्धक्क रक्तदान गर्न उनले आग्रह गरे। ‘भीड कम गर्ने, पालोअनुसार सानो शिविरलाई प्रशय दिने काम गरिरहेका छौं,’ उनले भने। उनले खोप लगाउनुपूर्व नै रगत दान गरिदिएमा कमी हुनबाट रोकिने बताए। ‘खोप लगाउँदै हुनुपर्छ, खोप लगाउनुपूर्व रगतदान गर्नुहोस् भन्ने सन्देश पनि प्रभाव गरेका छौं,’ उनले भने।

राजनीतिक दलहरूलाई पनि संगठन परिचालन गरेर रक्तदान गरिदिन आग्रह गरिदिएको उनले बताए। पहिला रगतदान गरेका ३ हजार जना मोबाइलबाट एसएमएस गरेर रक्तदान गर्न केन्द्रले आह्वान गरेको छ। नेपालको ७३ जिल्लाका १ सय १६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ। काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवालगायत विराटनगर, पोखरा, नेपालगन्ज र चितवन गरी चारवटा क्षेत्रीय रक्तसञ्चार सेवा २२ वटा जिल्लास्तरीय एकाइ, ४७ जिल्लाका आकस्मिक रक्तसञ्चार सेवा र ३८ वटा अस्पतालका रक्तसञ्चार सेवा एकाइबाट अहिले रक्तसञ्चार सेवा सञ्चालनमा छ।

त्यस्तै, अहिले चितवनमा रगतको चरम अभाव छ। धेरै जिल्लाबाट बिरामी आउने भएकाले जिल्लामा रगतको माग बढी छ। तर, रगत दिने दाता शून्य जस्तै छन्। जटिल अवस्थाका बिरामीलाई झनै समस्या छ। भरतपुरको बीपी क्यान्सर अस्पतालका कन्सलटेन्ट क्यान्सर सर्जन डा। अनिल विक्रम कार्कीले रगतको अभावमा शल्यक्रिया कम हुने गरेको बताए। ‘क्यान्सर जटिल समस्याका भएकाले ढिलाइ गर्न मिल्दैन। तर, रगतको अभावले यस्तो समस्या देखिएको छ,’ उनले भने, ‘जुन हिसाबले सर्जरी गर्नुपर्ने हो, त्यो अनुपातमा गर्न सकेका छैनौं।’
दाङबाट श्रीमतीको औषधि गराउन आएका मनिराम चौधरी रगतको खोजीमा १० दिनअघिदेखि भरतपुर अस्पताल परिसरस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र भौतारिरहेका भेटिन्छन्। उनी अस्पतालमा कम, रगतको खोजीमा बढी दौडधुप गर्छन्। १२ युनिट रगत चढाइसकेका उनले अझै नपुगेपछि चिन्तित छन्। रक्तसञ्चारमा रगत संकलन भएर कहीँबाट आउँछ कि भनी कुरेर बस्छन्। ‘मानिसको नम्बर खोजेर हात जोडीजोडी रगत माग्न परेको छ,। एक्लै दौडिरहेको छु तर रगत छैन।’

रुपन्देहीका मुकेश यादव पनि ५५ वर्षीया आमालाई अस्पतालको बेडमा छोडेर रक्तसञ्चार केद्रमा ४ घण्टादेखि रगत पर्खिरहेका थिए। ‘रगत पाइन्छ कि पाइँदैन थाहा छैन। धेरै धाउन परिरहेको छ,’ उनले पीडा सुनाए, ‘रगत आयो भनेर सोध्न आउन जान मात्रै ४ सयभन्दा बढी त भाडामा मात्रै सकिन्छ। अन्ततः खाली हात फर्किनुपर्छ।’
कोरोना संक्रमणले दाता नजुट्दा रगतको अभाव भएको हो। कोरोना संक्रमण बढेपछि रक्तदान कार्यक्रम हुन सकेको छैन। कोभिडको डरले रगत संकलन कार्यक्रम प्रभावित भएको छ। भरतपुरको रक्तसञ्चार केन्द्रलाई रगतको व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ। समुदायमा कोरोना महामारी फैलिएको देखिएको अवस्थाले रक्त संकलन हुन नसक्दा रगतको ठूलो अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए।

‘उपचारका लागि रगत लिन आउनुहुन्छ। बिरामीका आफन्तसँग पनि दाता छैनन्। हाम्रो सम्पर्कमा हुनुभएका दाताहरू बोलाए पनि त्यसले धानेन,’ उनले भने, ‘अहिले आकस्मिक दाता बोलाएर व्यवस्थापन गरेका छौं। रक्तदान कार्यक्रम भयो भने यसको समस्या समाधान हुन्छ।’ कोरोनाको डरले चितवनमा गत सातादेखि रगत संकलन हुन सकेको छैन।

जहाँ छैन रगत अभाव

बागमतीमा कोभिडको दोस्रो लहरका बेलाजस्तो रगत अभाव नरहेको रक्त सञ्चाल केन्द्र हेटौंडाले जनाएको छ। ‘कोभिडको तेस्रो लहरमा प्लाज्मा दिनुपर्ने बिरामी खासै आएका छैनन्। त्यसैले रगतको काम बढेको छैन,’ केन्द्रका प्रमुख टंक दाहाल भन्छन्, ‘नियमित रगत संकलन र वितरण भइरहेको छ।’ उनका अनुसार रक्त सञ्चार केन्द्र हेटौंडाबाट दैनिक १० युनिट रगत वितरण भइरहेको छ।

‘हामीले पुसमा साढे तीन सय युनिट रगत जम्मा गर्‍यौं। त्यही रगत बाँकी रहेकाले रक्त संकलन कार्यक्रमहरू पनि आयोजना गरिएको छैन’, उनी भन्छन्। लुम्बिनी प्रदेशमा रगतको सबैभन्दा बढी खपत रुपन्देहीमा हुँदै आएको छ। रक्तसञ्चार केन्द्र बुटवलले मात्रै वार्षिक ३६ हजार युनिट रगत बिरामीलाई दिने गरेको छ। नियमित रक्तदाता संघका अध्यक्ष कृष्ण चौहान क्षेत्रीका अनुसार लुम्बिनी प्रदेशमै रगतको अभाव छैन। कोरोना महामारीका कारण रक्तदान कार्यक्रम घटे पनि आकस्मिक रक्तदान निरन्तर भइरहेको चौहानको भनाइ छ। रुपन्देहीपछि बाँकेमा धेरै रगत खपत हुन्छ।

प्रदेश १ मा पनि रगत अभाव नरहेको जनाइएको छ। प्लाज्मा नगर्नु भन्ने आदेश आएकाले हालसम्म रगतको अभाव नदेखिएको प्रदेश सरकारका अधिकारी बताउँछन्। रक्तसञ्चार केन्द्रले आवश्यकताअनुसार तयारी अवस्थामा राखेर पनि रगतको अभाव हुन नदिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*