सरकार जनअपेक्षाअनुसार चल्न सकेन, परिवर्तनकारी शक्ति एकजुट हुनुपर्छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
वीरगंजमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा नेपालले संविधान, संघीयता र समावेशिताजस्ता उपलब्धिको संरक्षणका लागि परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखे।
लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता तथा समावेशितालगायतका संवैधानिक उपलब्धिमाथि चुनौती आउन सक्ने भन्दै उनले त्यसको रक्षाका लागि सम्बन्धित शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।
“संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,” नेपालले भने, “मुख्य कुरा संघीयता र समावेशिता जोगाउने हो। जनताले सुशासनको अनुभूति गर्न पाइरहेका छैनन्। त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन।”
उनले आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका नागरिकले संविधानबाट प्राप्त गरेका अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने बताए। प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि समेत एकीकृत रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै नेपालले मुलुकको विकास र समृद्धिका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच भने मुद्दाका आधारमा कार्यगत सहकार्य आवश्यक रहेको बताए।
यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले खोज तथा उद्धारमा अपेक्षित सक्रियता देखाउन नसकेको नेपालले आरोप लगाए। विपद्को समयमा छिमेकी मुलुक भारत र चीनबाट आवश्यक सहयोग लिन सरकारले तत्परता देखाउनुपर्ने उनको भनाइ थियो।
“देश अहिले विपत्तिमा छ। हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,” उनले भने, “खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेन। भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ।”
पूर्वप्रधानमन्त्री नेपालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, मधेश प्रदेश अध्यक्ष मनोजकुमार पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनोद पटेल, गंगा खड्का, बाबुराम कौशिक र केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो।










