मकवानपुरको नौखण्डेमा १२ चक्के ट्रक दुर्घटना, चालक घाइते

कोल्हवी न्यूज
२०८३ भाद्र २७, शनिबार ११:१५ गते

मकवानपुरको थाहा नगरपालिका–११, नौखण्डेमा १२ चक्के ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

शुक्रबार बिहान करिब ७:५० बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ४३५३ नम्बरको रड बोकेको ट्रक त्रिभुवन राजपथको घुम्तीमा मोड्न नसकी सडकको बाँयातर्फको खोल्सामा करिब १०० मिटर तल खसेको हो।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर निवासी करिब ३२ वर्षीय राकेश तामाङको दुवै खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते तामाङको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ८:३५ बजे काठमाडौं पठाइएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिएनन् भने चालकसँग आवश्यक कागजातसमेत रहेको थियो। दुर्घटनाका कारण सडकमा कुनै अवरोध भएको छैन। ट्रकमा भने क्षति पुगेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*