लामो प्रतीक्षापछि सवैला–८ का ३८५ परिवारले पाए जग्गाधनी पुर्जा
धनुषा । धनुषाको सवैला नगरपालिका–८, साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारले वर्षौंपछि आफ्नो जग्गाको जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
लामो समयदेखि स्ववासीका रूपमा जग्गा भोगचलन गर्दै आएका स्थानीयवासी अब कानुनी रूपमा जग्गाको स्वामित्व स्थापित गर्न सफल भएका छन्। नापजाँचको काम यसअघि नै सम्पन्न भए पनि आवश्यक कागजी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न स्थानीयको सहभागिता न्यून हुँदा पुर्जा वितरणमा ढिलाइ भएको थियो।
नापनक्सा सम्पन्न भइसकेका जग्गाको बाँकी प्रक्रिया अघि बढाएर हाल ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो। पुर्जा प्राप्त भएपछि वर्षौंदेखि स्ववासीका रूपमा जग्गा प्रयोग गर्दै आएका स्थानीयको जग्गामाथिको कानुनी अधिकार सुनिश्चित भएको छ।










