वीरगञ्जका ४५ केन्द्रमा आजदेखि कोभिडविरुद्धको खोप लगाइने
कोरोना भाईरसविरुद्धको खोप लिन छुटेकाहरुलाई मध्यनजर गर्दै वीरगञ्जमा भोलीदेखि पुनः खोप अभियान सञ्चालन हुने भएको छ । पुष १४ गते बसेको जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार १८ वर्ष वा सोभन्दा माथिका उमेर समुहलाई खोप लगाउन अभियान सुरु हुने भएको हो ।
पुष २३ गते शुक्रवार भोलीदेखि २७ गतेसम्म वीरगञ्जका ४५ स्थानमा सञ्चालन हुँदैछ । वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडासहित वीरगञ्जको घण्टाघर, नयाँ बसपार्क, आदर्शनगर चौक, नारायणी सेन्ट्रल अस्पताल, भवानी हस्पिटल, वीरगञ्ज हेल्थ केयर, जिल्ला प्रशासन कार्यालय पर्सा, सामुदायिक सेवा केन्द्र मुर्ली त्रिमुर्ती सिनेमा हल नजिक, सामुदायिक सेवा केन्द्र छपकैया श्रीराम हल नजिक, मुर्ली बगैचास्थित निर्वाचन कार्यालय र सिर्सियास्थित ड्राइपोर्टमा खोप अभियान सञ्चालन हुने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
शुक्रवारदेखि २७ गतेसम्म पहिलो तथा दोस्रो मात्राको भेरोसेल खोप लगाइने र २७ गते एस्ट्राजेनिक र कोभिशिल्डको पहिलो मात्रा लिइसकेकाहरुलाई दोस्रो मात्राको खोप लगाइने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । पहिलो मात्राको खोप लगाउनेहरुले परिचय खुल्ने प्रमाण पत्रका साथै दोस्रो मात्राको खोप लगाउनेले खोप कार्ड अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।









