चिसोका कारण तराईका अधिकांश जिल्लाको जनजीवन कष्टकर, विद्यालयहरु धमाधम बन्द हुँदै
केही दिनयताको निरन्तरको शीतलहर तथा चिसोका कारण जनकपुरधामसहित तराईका अधिकांश जिल्लाको जनजीवन कष्टकर बनेको छ। शीतलहर तथा चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ।
चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ। चिसोका कारण बजार तथा सार्वजनिक ठाउँमा चहलपहल समेत घटेको छ। आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै धनुषाका चार स्थानीय तहहरुले नगरक्षेत्रका विद्यालयहरु बन्द गरेका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरमिया गाउँपालिका र लक्ष्मीनिया गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्।
अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै क्षिरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलवारदेखि शुक्रवारसम्म, नगराइन नगरपालिकाले सोमवारदेखि शुक्रवारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन्।
त्यस्तै, लक्ष्मीनिया गाउँपालिकाले भने जाडो बढेको भन्दै अनिश्चितकालका लागि विद्यालयहरु बन्द गरेको छ। पालिकाले एक सूचना जारी गर्दै मंगलवारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि विद्यालयहरु बन्द गरेका छन्।
चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय भएको बताइएको छ।









