नयाँ वर्ष मनाउन ठोरी पुगेका पटेलको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु, अन्य ३ जना घाइते
अङ्गरेजी नयाँ वर्ष २०२२ मनाउन पर्साको ठोरी पुगेका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ भने ३ जना गम्भीर रुपले घाइते भएका छन् ।
ठोरी गाउँपालिका वडा नबर २ स्थित हुलाकी राजमार्गअन्तर्गत पर्ने रामनगरमा विपरित दिशाबाट आइरहेका मोटरसाइकलहरु एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर पर्साकै पोखरिया नगरपालिका वडा नम्बर २ निवासी १८ वर्षीय सन्तोष पटेलको मृत्यु भएको छ भने उनिसँग सवार सोही स्थानका २० वर्षीय सरोज पटेल गम्भीर रुपले घाइते भएका छन् ।
त्यसैगरी अर्को मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी निवासी १७ वर्षीय गन्नी मियाँ हजाम र २८ वर्षीय नूर मोहम्मद हजाम पनि गम्भीर रुपले घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुको हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । खनालका अनुसार घाइतेहरुको अवस्था चिन्ताजनक छ । नयाँ वर्ष मनाउन ठोरी पुगेका पटेलद्वय सवार ना। ६३ प ७४२६ नम्बर को मोटरसाइकल र विपरित दिशा तर्फबाट आइरहेको हजामद्वय सवार बा २७ प १६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको खनालले जानकारी दिए ।
पटेलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् भने अन्यहरुलाई गम्भीर किसिमले चोटपटक लागेको छ । घाइतेहरुलाई प्रहरी र स्थानीयहरुको सहयोगमा तत्कालै एम्बुलेन्समा राखेर वीरगञ्ज पठाइएको थियो । प्रहरीका अनुसार दुर्घटना कसको गलतीले भएको भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।