अमेरिकामा दीपावली उत्सवमा हिन्दुविरोधी प्रदर्शन, चौतर्फी आलोचना

कोल्हवी न्यूज
२०८३ कार्तिक २४, सोमबार ०८:३१ गते

अमेरिका । अमेरिकाको सियाटलमा हिन्दु समुदायले दीपावली मनाइरहेका बेला हिन्दुविरोधी नारासहित प्रदर्शन भएपछि विवाद चर्किएको छ। दक्षिणपन्थी कार्यकर्ताहरूले धार्मिक तथा जातीय विभेद झल्किने प्लेकार्ड प्रदर्शन गरेपछि अमेरिकी राजनीतिक वृत्तदेखि भारतीय मूलका समुदायसम्मबाट त्यसको विरोध भएको छ।

दीपावली उत्सवका क्रममा दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले कार्यक्रममा पुगेर हिन्दु समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ जस्ता विभाजनकारी सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

घटनाप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा आपत्ति जनाएकी छन्। डेमोक्रेटिक पार्टीकी सांसद जयपालले सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रदर्शनको भिडियो साझा गर्दै उक्त गतिविधिलाई घृणित र जातिवादी व्यवहारको संज्ञा दिएकी छन्।

दीपावली हिन्दु समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व भएको उल्लेख गर्दै उनले समुदायले आफ्नो पर्व मनाउँदा सुरक्षित महसुस गर्न पाउनुपर्ने बताएकी छन्। धार्मिक आस्थाका आधारमा कुनै पनि समुदायलाई त्रसित बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।

त्यस्तै, भारतीय मूलका अमेरिकी व्यवसायी अजय जैन भुटोरियाले पनि घटनाको निन्दा गर्दै यसलाई धार्मिक असहिष्णुता र कट्टरताको उदाहरण बताएका छन्। शान्तिपूर्ण रूपमा पर्व मनाइरहेको समुदायलाई लक्षित गरी गरिएको यस्तो प्रदर्शन कुनै पनि हालतमा स्वीकार्य नहुने उनले उल्लेख गरेका छन्।

भुटोरियाले दीपावलीलाई प्रकाश, पारिवारिक एकता र खुसीको पर्वका रूपमा व्याख्या गर्दै धार्मिक उत्सवलाई घृणा र धम्की फैलाउने माध्यम बनाउन नहुने धारणा व्यक्त गरेका छन्।

अमेरिकामा बसोबास गर्ने हिन्दु अमेरिकी तथा भारतीय मूलका आप्रवासी समुदायलाई लक्षित गरी जातीय गालीगलौज र घृणापूर्ण अभिव्यक्ति दिनु अस्वीकार्य रहेको उनको भनाइ छ।

बहुसांस्कृतिक तथा बहुधार्मिक समाजका रूपमा चिनिने अमेरिकामा धार्मिक स्वतन्त्रता र आपसी सद्भावको विषय चर्चामा रहेका बेला दीपावली उत्सवमै भएको यस घटनाले धार्मिक सहिष्णुता र आप्रवासी समुदायको सुरक्षाबारे पुनः बहस सिर्जना गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*