छठमा दलितका लागि छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

कोल्हवी न्यूज
२०८३ कार्तिक २४, सोमबार ०८:३९ गते

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। मन्त्रालयले छठ पूजामा सबै जातजाति र समुदायको समान सहभागिता सुनिश्चित गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न ध्यानाकर्षण गराएको छ। छठजस्तो धार्मिक तथा सांस्कृतिक पर्वमा जातीय आधारमा समुदायलाई अलग्याउने कार्यले सामाजिक सद्भावमा असर पुर्‍याउने मन्त्रालयको भनाइ छ।

छठ पर्व आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकताको प्रतीक भएकाले सबै समुदायले समान रूपमा पर्व मनाउने वातावरण निर्माण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। कुनै पनि जातजाति, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले नेपालको संविधानको धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरिएको स्मरण गराएको छ। साथै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय आधारमा गरिने विभेद तथा छुवाछुत दण्डनीय अपराध रहेको स्पष्ट पारेको छ।

सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने तथा कुनै समुदायलाई धार्मिक गतिविधिबाट अलग्याउने कार्य संविधान र कानुनविपरीत हुने मन्त्रालयले जनाएको छ।

यस्ता गतिविधि रोक्न स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले आग्रह गरेको छ।

सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान र समावेशी सहभागितासहितको समतामूलक समाज निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक सद्भाव र भाइचारा कायम राख्नसमेत अपिल गरिएको छ।

यसैबीच, मन्त्रालयले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*