तिहारको तेस्रो दिन आज : गाईको पूजा आराधना गरी गाई तिहार मनाउँदै
हिन्दु धर्मावलम्बीहरूले आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाईको पूजा आराधना गरी गाई तिहार मनाउँदै छन्। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा गाईलाई माता र धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा छ।
गाई तिहारका अवसरमा बिहानै गाईलाई स्नान गराई निधारमा टीका लगाउने, घाँटीमा फूलमाला पहिर्याउने तथा धूप, दीप र आरतीसहित पूजा गर्ने गरिन्छ। पूजापछि गाईलाई हरियो घाँस, फलफूल र विभिन्न परिकार खुवाएर श्रद्धा व्यक्त गर्ने चलन छ।
हिन्दु धार्मिक मान्यताअनुसार गाईमा देवीदेवताको वास हुने विश्वास गरिन्छ। गाईको पूजा तथा सेवा गर्नाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। वैदिक परम्परामा समेत गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा लिने गरिएको छ।
गाईपूजा धार्मिक आस्थाको अभिव्यक्ति मात्र नभई पशुप्रति माया, दया, करुणा र संरक्षणको भावना जागृत गराउने पर्वका रूपमा पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।









