नयाँ बाइकसँगको खुसी एक दिनमै खोसियो, दुर्घटनामा लोकेशको मृत्यु

कोल्हवी न्यूज
२०८३ कार्तिक २४, सोमबार ०८:३६ गते

डडेल्धुरा । नयाँ मोटरसाइकल किनेर जीवनका नयाँ सपना बुनेका डडेल्धुराका लोकेश भण्डारीको खुसी २४ घण्टा पनि टिक्न सकेन। मोटरसाइकल किनेको भोलिपल्टै दुर्घटनामा परी उनको ज्यान गएको छ। उनको निधनले परिवारमा शोक छाएको छ भने तीन महिनाकी छोरीले सानै उमेरमा बुबा गुमाएकी छन्।

डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाका भण्डारीले दुर्घटनाको अघिल्लो दिन मात्रै नयाँ मोटरसाइकल खरिद गरेका थिए। नयाँ मोटरसाइकलसँगै खिचेको तस्बिर उनले फेसबुकमा सार्वजनिक गर्दै लेखेका थिए, ‘निङ्लाशैनी, डाँडा बाघ, विश्वकर्मा बाबा रक्षा गर्नु।’

नेपाल प्रहरीमा कार्यरत भण्डारी नयाँ मोटरसाइकल लिएर भविष्यका योजना बुन्दै गर्दा नियतिको क्रूर प्रहारमा परे। नारायणगढबाट कावासोतीतर्फ मोटरसाइकलमा जाँदै गरेका उनलाई सोही दिशातर्फ गइरहेको ट्याक्टरले ठक्कर दिएको थियो। बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

भण्डारीको निधनसँगै उनकी श्रीमतीले जीवनसाथी गुमाएकी छन् भने तीन महिनाकी छोरीले बाबुको माया र काखबाट वञ्चित हुनुपरेको छ। परिवारको सहारा गुमेपछि आफन्त तथा परिवारजन शोकमा डुबेका छन्।

दुर्घटनाको अघिल्लो दिन नयाँ मोटरसाइकलसँगै मुस्कुराउँदै सामाजिक सञ्जालमा तस्बिर राखेका लोकेशको त्यही तस्बिर अहिले परिवारका लागि पीडादायी सम्झना बनेको छ। नयाँ यात्राको सुरुवात गर्ने सपना देखेका उनी सदाका लागि अस्ताएका छन्।

लोकेशको असामयिक निधनले सडक दुर्घटनाले निम्त्याउने अपूरणीय मानवीय क्षतिलाई पुनः उजागर गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*