बाराको सीमावर्ती क्षेत्रबाट भारततर्फ अफिम तस्करी, तीन जना पक्राउ
बारा । नेपालबाट भारततर्फ लागुऔषध अफिम तस्करी भइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ किलो ५० ग्राम अफिमजस्तो देखिने पदार्थ, तीन थान मोबाइल र एउटा ई–रिक्सा बरामद गरिएको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको छौडादानो थाना क्षेत्रअन्तर्गत धरहरी गाउँनजिकै आइतबार एसएसबीको ७१औँ बटालियनअन्तर्गत बीओपी चन्दर्मन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष गस्ती गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
एसएसबी मुख्यालय मोतिहारी पिपराकोठीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको निगरानीका क्रममा प्लास्टिकको बोरामा राखिएको अवस्थामा अफिमजस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्लाका ४७ वर्षीय फिरोज अहमद र ३५ वर्षीय बिपिन कुमार तथा नेपालको बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–चिकनी (पकडिया) निवासी २६ वर्षीय दिलीप कुमार सहनी रहेका छन्।
एसएसबीका अनुसार घटनास्थल नेपाल–भारत सीमा स्तम्भ नम्बर ३७६ बाट करिब २.५ किलोमिटर भारतीय भूभागभित्र पर्दछ। प्रारम्भिक अनुसन्धानमा उक्त पदार्थ नेपालको चिकनी क्षेत्रबाट भारतको माशाही (खैरवा) तर्फ लैजाँदै गरिएको खुलेको जनाइएको छ।
बरामद पदार्थ तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि चौरादानो प्रहरी थानामा बुझाउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया भारतीय प्रहरीले अगाडि बढाउने एसएसबीले जनाएको छ।









