मकवानपुरगढीको भानु माविलाई देउसी–भैलोबाट ६ लाख १६ हजार संकलन
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित श्री भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सव–२०८३ सफल बनाउन आयोजित देउसी–भैलो कार्यक्रमबाट पहिलो दिनमै ६ लाख १६ हजार ४०६ रुपैयाँ सहयोग संकलन भएको छ।
विद्यालयको स्वर्ण महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले कार्तिक २२ गतेदेखि सुरु गरिएको देउसी–भैलो अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिका–४ का विभिन्न टोल विकास संस्था तथा स्थानीय घरपरिवारबाट उक्त रकम संकलन भएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार सुनौलो ज्वालादेवी टोल विकास संस्थाबाट १ लाख १ हजार ६८० रुपैयाँ, जीवनमौली टोल विकास संस्थाबाट १ लाख २५ हजार रुपैयाँ, नमुना टोल विकास संस्थाबाट ९६ हजार २७६ रुपैयाँ र धरमचुली टोल विकास संस्थाबाट २ लाख ९३ हजार ४५० रुपैयाँ संकलन भएको हो।
अभियानमा स्थानीय बासिन्दा, अभिभावक, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ। विद्यालय परिवारले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ।
विद्यालयको देउसी–भैलो कार्यक्रम कार्तिक २३ र २४ गते पनि निरन्तर सञ्चालन हुने जनाइएको छ। स्वर्ण महोत्सवका अवसरमा ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको नाम विद्यालय परिसरमा निर्माण गरिने स्वर्ण स्तम्भमा अभिलेख गरिने विद्यालयले जनाएको छ।
समुदायको साथ र सहयोगबाट विद्यालयको ५०औँ वार्षिकोत्सवलाई ऐतिहासिक तथा अविस्मरणीय बनाउने लक्ष्यसहित सहयोग संकलन अभियान सञ्चालन गरिएको विद्यालय परिवारले जनाएको छ।










