पर्सामा पुष १९ देखि २७ गतेसम्म दुई चरणमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप दिइने
पर्सामा कोभिड(१९ विरुद्धको भेरोसेल खोप अभियान पुनस् पुष १९ गतेदेखि सञ्चालन हुने भएको छ ।
जिल्लाका सम्पूर्ण स्थानीय तहमा कोभिड(१९ विरुद्धको भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा लिन छुटेका १८ वर्ष माथिका सबै व्यक्तिका लागि पुष १९ गतेदेखि २७ गतेसम्म दुई चरणमा अभियान सञ्चालन हुन् लागेको स्वास्थ्य कार्यालय पर्साले एउटा सूचना जारी गर्दै जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पुष १९ गतेदेखि २३ गतेसम्म जिल्लाको पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, सखुवा पर्सौनी गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
त्यसैगरी पुष २३ गतेदेखि २७ गतेसम्म जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका र पकाहमैनपुर गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।
खोप अभियानका लागि केन्द्रका बारे भने सूचनामा कुनै जानकारी उल्लेख गरिएको छैन ।









