बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर

कोल्हवी न्यूज
२०७८ पुष १७, शनिबार ०६:०६ गते

कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बनेको छ। बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो। मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र रातिका लागि ताता ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङ्ग्रिएरै बस्न बाध्य भएका हुन्।

यसैगरि चौपाया र पशुपक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्। बिहान पानी परेझैं शीत (तुषारो) झरेको छ। न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरा समेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य छन्। चिसोले घरपालुवा पशुपक्षी, ससाना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरु बढी प्रभावित भएका छन्। कठ्याङग्रिदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवारलाई धेरै असर गरेको छ।

चिसो छल्न झुप्रा बस्तीका प्रत्येकजसो घर र चोक चौतारामा स्थानीय आगो बालेर तापिरहेका छन्। बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा अत्यन्त व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन बत्ती बालेर गुडिरहेका छन्। दिनहुँ मजदूरी गरि जीविका चलाउने मजदूरहरु समस्यामा परेका छन्। त्यस्ता व्यक्तिहरु चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूले सुझाएका छन्।

हुस्सु र शीतलहरले तोरी, लहरी, चना, मुसुरो, गोलभेंडा, आलुलगायत बालीमा रोग र कीराको प्रकोप देखिने भन्दै किसान चिन्तित बनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*